सुदूरपश्चिम विश्वविद्यालय सन् २०१० मा संसदको विशेष ऐनमार्फत स्थापना गरिएको संघीय विश्वविद्यालय हो, जसको केन्द्रीय कार्यालय सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिकामा अवस्थित छ। “शिक्षा सबैको अधिकार हो र सबैका लागि सहज पहुँच हुनुपर्छ” भन्ने आधारभूत मान्यतामा आधारित यो विश्वविद्यालयले शैक्षिक पहुँच र समावेशीतालाई प्राथमिकता दिँदै, सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा १५ वटा आङिक क्याम्पसहरू सञ्चालनमा ल्याएको छ। साथै, यसले देशभर ३२ वटा सम्बन्धन प्राप्त क्याम्पसहरू मार्फत समेत शैक्षिक सेवाको विस्तार गरिरहेको छ। मानविकी, शिक्षा, विज्ञान, प्रविधि, व्यवस्थापन, कृषि, इञ्जिनियरिङ, कानुन, स्वास्थ्य र प्राकृतिक स्रोत व्यवस्थापन लगायतका नौ संकायअन्तर्गत स्नातकदेखि पिएचडी तहसम्मका कार्यक्रमहरू सञ्चालन गर्दै आएको यस विश्वविद्यालयले पाठ्यक्रम नवप्रवर्तन, अनुसन्धानमा आधारित शिक्षण, तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सहकार्यमा समेत ध्यान केन्द्रित गर्ने प्रयास गरेको पाइन्छ। यसले नेपालमा एक अग्रणी शैक्षिक केन्द्रको रूपमा आफूलाई स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिएको छ।
यद्यपि विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, अनुसन्धान प्रवर्द्धन र सामुदायिक सहभागितालाई रणनीतिक दिशामा अघि बढाउने प्रयत्न गरिरहेको छ, संस्थाभित्र गहिरो व्यवस्थापकीय संकट, प्रशासनिक असंवेदनशीलता, राजनीतिक हस्तक्षेप, पारदर्शिताको कमी, तथा करार नियुक्ति सम्बन्धी विकृति अझै पनि गम्भीर चुनौतीको रूपमा विद्यमान छन्। यी समस्याहरूले संस्थाको गुणस्तरीय र समावेशी शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यमा अवरोध पुर्याइरहेका छन्। यस्तो अवस्थामा विश्वविद्यालयको दिगो र उत्तरदायी सुधारका लागि स्पष्ट नीतिगत मार्गचित्र, संस्थागत शुद्धिकरण, उत्तरदायित्वपूर्ण नेतृत्व, तथा सरोकारवालाहरूको समावेशी सहभागिता अपरिहार्य देखिन्छ। यदि यिनै आधारहरूमा सुधार प्रक्रिया अघि बढाइयो भने, सुदूरपश्चिम विश्वविद्यालयले देशकै अग्रणी र विश्वसनीय शैक्षिक केन्द्र बन्ने सम्भावना उज्यालो छ।
शैक्षिक सुधारका कार्यहरू
सुदूरपश्चिम विश्वविद्यालयमा शैक्षिक सुधारका उद्देश्यले विभिन्न यथार्थपरक तथा नवप्रवर्तनकारी गतिविधिहरू गर्ने प्रयास गरिएको पाइन्छ। अनुसन्धान, सेमिनार, पुस्तक समीक्षा र पाठ प्रस्तुति जस्ता बौद्धिक क्रियाकलापहरूको नियमित सञ्चालनले शिक्षक र विद्यार्थी दुबैको प्राज्ञिक क्षमतामा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिन्छ। यस्ता कार्यक्रमले शिक्षण–सिकाइ प्रक्रियालाई अनुसन्धानमुखी र सम्वादात्मक बनाउँदै सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने अवसर प्रदान गर्छन्। साथै, विद्यार्थी सहभागितामा आधारित शिक्षण विधि तथा सूचना प्रविधिको उपयोग गर्न सम्बन्धित तालिमहरू सञ्चालन गर्न सके भने शिक्षण पद्धतिमा नविनता ल्याउनुका साथै विद्यार्थीहरूको सक्रियता र स्वायत्ततामा वृद्धि हुने देखिन्छ।
विद्यार्थी केन्द्रित शिक्षालाई व्यवहारमा उतार्न हेल्प डेस्क, परामर्श केन्द्र, शैक्षिक भ्रमण तथा अभिमुखीकरण कार्यक्रमहरूको व्यवस्था गर्नु आवस्यक देखिन्छ। यस्ता पहलहरूले विद्यार्थीको समग्र विकासमा सहयोग पुर्याउनुका साथै उनीहरूलाई प्राज्ञिक, सामाजिक तथा व्यावसायिक रूपमा सक्षम बनाउने सम्भावना राख्दछन्। ई-लाइब्रेरी, डिजिटल पहुँच र सन्दर्भ सामग्रीसहितको पुस्तकालय स्थापनाले विद्युतीय स्रोतहरूमा सहज पहुँच सुनिश्चित गर्दै अनुसन्धान र आत्मपठन संस्कृतिको प्रवर्द्धन गर्ने अपेक्षा गरिन्छ। त्यसैगरी, रोजगारीमुखी, स्वदेशमुखी तथा स्थानीय सन्दर्भमा आधारित पाठ्यक्रम विकास र कार्यान्वयनले विश्वविद्यालय शिक्षालाई राष्ट्रिय आवश्यकतासँग सघन रूपमा जोड्दै विद्यार्थीलाइ स्थानीय तथा वैश्विक बजारका लागि तयारी गराउने सम्भावना बढाउन सकिन्छ। यी सबै कार्यहरूको प्रभावकारी कार्यान्वयनले सुदूरपश्चिम विश्वविद्यालयलाई गुणस्तरीय, उत्तरदायी र व्यवहारमुखी शैक्षिक संस्थाको रूपमा सशक्त तुल्याउन सक्नेछ।
प्रशासनिक सुधारका कार्यहरू
सुदूरपश्चिम विश्वविद्यालयको समग्र संस्थागत सुदृढीकरणका लागि प्रशासनिक सुधार अत्यावश्यक क्षेत्रको रूपमा देखा परेको छ। खुला प्रतिस्पर्धामार्फत योग्यता र क्षमताका आधारमा नियुक्ति प्रक्रिया अघि बढाउनु, तथा राजनीतिरहित कार्यसंस्कृति स्थापना गर्नु दीर्घकालीन सुधारको मूलाधार हो। यसले केवल दक्ष जनशक्ति उत्पादनमा मात्र नभई संस्थाभित्र पेशागत उत्तरदायित्व र जवाफदेहितालाई पनि मजबुत पार्ने अपेक्षा गरिएको छ। त्यस्तै, बजेटको पारदर्शी व्यवस्थापन तथा प्रभावकारी अनुगमन र मूल्याङ्कन प्रणालीको विकासले स्रोतसाधनको न्यायसंगत र परिणाममुखी उपयोग सुनिश्चित गर्न सहयोग पुर्याउँछ।
डिजिटल सूचना प्रणालीको स्थापनासँगै सहजिकरण कक्ष र अभिलेख व्यवस्थापनको सुदृढीकरण गर्नु प्रशासनिक सेवा प्रवाहलाई छरितो, सहज र व्यवस्थित बनाउन महत्वपूर्ण हुने देखिन्छ। यस्ता प्रविधिमैत्री अभ्यासले सूचना पहुँचमा समानता ल्याउनुका साथै पारदर्शिता र दक्षता अभिवृद्धि गर्नेछ। साथै, विद्यार्थी–प्रशासन संवाद संयन्त्रको स्थापनाले संस्थाभित्र अन्तरक्रिया, सहभागिता र पारस्परिक विश्वासको वातावरण सिर्जना गर्न मद्दत पुर्याउँछ। यो संयन्त्रले विद्यार्थीका आवाजलाई संस्थागत निर्णय प्रक्रियामा स्थान दिँदै जवाफदेहिताको अभ्यास सुदृढ पार्न सक्नेछ। समग्रमा, प्रशासनिक सुधारका यी प्रयासहरूले विश्वविद्यालयको संस्थागत क्षमतालाई वृद्धि गर्दै सुदूरपश्चिम विश्वविद्यालयलाई जिम्मेवार, सक्षम र समावेशी शैक्षिक संस्थाको रूपमा अघि बढाउन सक्ने सम्भावना उच्च छ।
विद्यार्थी सशक्तीकरण र हकहित
सुदूरपश्चिम विश्वविद्यालयले विद्यार्थी सशक्तीकरण र हकहितलाई केन्द्रमा राखी विभिन्न संरचनात्मक तथा कार्यक्रमगत पहलहरू अघि बढाउनु आवस्यक देखिन्छ। Incubation Center, Job Placement Cell, Research Cell, Counselling Cell, Leadership Grooming Forum तथा खेलकुद, संगीत, साहित्य, पठन र लेखन क्लबहरूको सुदृढीकरणमार्फत विद्यार्थीहरूलाई बहुआयामिक प्रतिभा अभिव्यक्तिको अवसर प्रदान गर्ने प्रयास अपरिहार्य बनेको छ। यस्ता संरचनाले विद्यार्थीको सिर्जनात्मकता, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्दै उनीहरूलाई भविष्यको प्रतिस्पर्धी बजारका लागि तयार पार्न सहयोग पुर्याउँछन्। साथै, Internship, Learn and Earn, र शेयर बजार तालिम जस्ता सीप विकास कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक सीप, उद्यमशीलता र आर्थिक आत्मनिर्भरतातर्फ उन्मुख गराउने सम्भावना बोकेको हुन्छ।
शारीरिक र मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य परीक्षण, योग, ध्यान, motivational classes र rescue team को व्यवस्था गर्नु विद्यार्थी कल्याणप्रति विश्वविद्यालयको उत्तरदायित्वबोधको आधार हो। यस्ता सेवा र कार्यक्रमहरूले विद्यार्थीको समग्र जीवनपद्धतिमा सकारात्मक परिवर्तन ल्याउन सक्ने सम्भावना हुन्छ। त्यस्तै, छात्रवृत्तिको निष्पक्ष वितरण, कोटाको समावेशी पुनरावलोकन, रकम अभिवृद्धि तथा शुल्क घटाउने पहलले सामाजिक तथा आर्थिक रूपले पछाडि परेका विद्यार्थीहरूलाई उच्च शिक्षामा पहुँच अभिवृद्धि गराउने लक्ष्य पूरा गर्न मद्दत गर्दछ। विश्वविद्यालय क्षेत्र तथा छात्रावासहरूमा पौष्टिक खानपान, सरसफाइ, पिउने पानी र शौचालय मर्मतको व्यवस्थाले जीवनस्तरमा सुधार ल्याउँदै शिक्षण–सिकाइको वातावरण अनुकूल बनाउँछ। जातीय र लैंगिक विभेदको अन्त्य गर्दै समानता र समावेशितामा आधारित मैत्रीपूर्ण शैक्षिक वातावरण निर्माण गर्नु विश्वविद्यालयको दीर्घकालीन समावेशी सोचको प्रतिबिम्ब हो, जसले समता र मानव मूल्यमा आधारित शिक्षाको आधारशिला मजबुत पार्छ।
प्रविधि, संरचना र पूर्वाधार सुधार
सुदूरपश्चिम विश्वविद्यालयले समयानुकूल शिक्षण–सिकाइ प्रविधि तथा पूर्वाधारमा सुधार गर्दै प्राज्ञिक वातावरणलाई समृद्ध बनाउने दिशामा प्रयासहरू आगाडी बढाउनु आवस्यक देखिन्छ। डिजिटल मञ्च, पोडकास्ट, ब्लग र अनलाइन बहसजस्ता नवप्रवर्तनशील डिजिटल पहलहरूले शैक्षिक संवादलाई बहुआयामिक, प्रवाहमूलक र सहभागी बनाउँछन्। यस्ता माध्यमहरू सृजनात्मक अभिव्यक्तिको सशक्त साधन हुन् जसले विद्यार्थी तथा शिक्षकबीचको अन्तर्क्रियालाई प्रवर्द्धन गर्ने मात्र होइन, समसामयिक विषयवस्तुमाथि गहन विमर्शको संस्कृति पनि विकास गर्छन्। कम्प्युटर ल्याब सुदृढीकरण र आधारभूत कम्प्युटर तालिम सञ्चालनले प्रविधिसँग सम्बन्धित न्यूनतम दक्षता प्राप्त गर्न सघाउनेछ, जसले भविष्यको रोजगारी बजारमा प्रतिस्पर्धी बनाउनेछ।
भौतिक संरचना सुधारका पक्षमा अपांगमैत्री संरचनाको निर्माण, कक्षा कोठाहरूको मर्मत, गुणस्तरीय फर्निचरको उपलब्धता र सोलार प्रणालीको जडानजस्ता कार्यहरूले विश्वविद्यालयलाई समावेशी, सुरक्षित र दिगो बनाउने आधार निर्माण गर्छन्। यस्ता सुधारहरूले शैक्षिक वातावरणलाई विद्यार्थीमैत्री र पहुँचयोग्य बनाउँदै सामाजिक उत्तरदायित्वलाई पनि प्रतिबिम्बित गर्छन्। साथै, रक्तदान कार्यक्रम र महिला हिंसा, छाउपडी, बालविवाह, लागुऔषधजस्ता सामाजिक समस्यामाथि केन्द्रित सचेतनामूलक अभियानहरूले विश्वविद्यालयलाई केवल ज्ञान उत्पादनको केन्द्र नभई सामाजिक रूपान्तरणको संवाहकका रूपमा समेत स्थापित गर्ने सम्भावना बोकेको छ। प्रविधि र पूर्वाधारको यस्ता समग्र सुधार प्रयासहरूले सुदूरपश्चिम विश्वविद्यालयलाई आधुनिक, समावेशी र उत्तरदायी शिक्षण संस्थाको रूपमा अगाडि बढाउने सम्भावना अत्यन्त बलियो छ।
नीतिगत र संस्थागत सुधार
सुदूरपश्चिम विश्वविद्यालयले दीर्घकालीन सुधारको आधारका रूपमा नीतिगत र संस्थागत पुनर्संरचनालाई अवलम्बन गर्नु अपरिहार्य देखिन्छ। नियुक्ति तथा सेवा सुविधामा योग्यता र दक्षता आधारित निष्पक्षताको सुनिश्चितता, कुनै पनि शैक्षिक संस्थाको सुदृढीकरणका लागि आधारशिला हो। यस्तो अभ्यासले केवल योग्य जनशक्ति भित्र्याउने मात्र होइन, समग्र कार्यक्षमताको पनि अभिवृद्धि गर्दछ। ऐन, नियम तथा कार्यविधिको कडाइका साथ पालना गरिनु र दल-संगठनको प्रभावको अन्त्य गरिनु आजको प्रमुख आवश्यकता हो। जब विश्वविद्यालय स्वतन्त्र, उत्तरदायी र मर्यादित प्रशासनिक कार्यप्रणालीमा आधारित हुन्छ, तब मात्र त्यसले आफ्नो शैक्षिक उद्देश्यहरू प्राप्त गर्न सक्छ।
प्रशासनिक पारदर्शिता वृद्धि गर्दै सरोकारवालाको सहभागी निर्णय प्रणालीको विकासले संस्थाको विश्वासनीयता र उत्तरदायित्वलाई थप सुदृढ पार्छ। विश्वविद्यालय सञ्चालनमा विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक र स्थानीय समुदायजस्ता सरोकारवाला पक्षहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नाले नीतिगत निर्णयहरू थप प्रभावकारी र व्यवहारिक बन्न सक्छन्। यस्तै, क्याम्पसहरूमा गुटबन्दी अन्त्य गर्दै समान अवसर र समावेशी कार्यसंस्कृतिको प्रवर्द्धन गर्नु संस्थागत सुधारको अर्को अनिवार्य पक्ष हो। यस्तो सुधारले केवल कार्यस्थलमा समानता र न्यायको प्रत्याभूति गराउने मात्र होइन, समावेशी नेतृत्व विकासको सम्भावनालाई समेत विस्तार गर्न सहयोग पुर्याउँछ। यस किसिमका नीतिगत तथा संस्थागत सुधार प्रयासहरूले सुदूरपश्चिम विश्वविद्यालयलाई एक सशक्त, समावेशी र भविष्यदृष्टियुक्त शैक्षिक संस्थाको रूपमा पुनःपरिकल्पना गर्न सकिन्छ।
शिक्षण गुणस्तर, अनुसन्धान र कार्यसम्पादन मूल्याङ्कन
सुदूरपश्चिम विश्वविद्यालयमा शिक्षण गुणस्तरको निरन्तर सुधारका लागि समसामयिक शैक्षिक प्रविधिको प्रयोग, विद्यार्थी केन्द्रित शिक्षण–सिकाइ रणनीति, र विषयगत दक्षता भएका प्राध्यापकहरूको संलग्नता अनिवार्य देखिन्छ। गुणस्तरीय शिक्षण सुनिश्चित गर्न नियमित कक्षा निरीक्षण, पाठ योजनाको अनुगमन, सिकाइ परिणामको विश्लेषण तथा शिक्षकहरूको क्षमता अभिवृद्धि कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन आवश्यक छ। यस्ता अभ्यासले शिक्षकको व्यावसायिक विकाससँगै विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रत्यक्ष असर पार्न सक्छ। साथै, अन्तरक्रियात्मक र नवप्रवर्तनशील पद्धतिबाट सिकाइ प्रक्रियालाई सहज, सरलीकृत र प्रभावकारी बनाउनु आजको माग हो।
शैक्षिक संस्थाको उत्कृष्टता अनुसन्धानमा आधारित शिक्षण प्रणालीबाट निखारिन्छ। त्यसकारण, विश्वविद्यालयमा अनुसन्धान केन्द्रको सुदृढीकरण, अनुसन्धान अनुदान, प्रकाशन प्रवर्द्धन, विद्यार्थी–शिक्षक सहकार्यमा आधारित परियोजनाहरू, तथा विषयगत गोष्ठी, सेमिनार र कार्यशाला कार्यक्रमहरूलाई नियमित रूपमा सञ्चालन गर्नु आवश्यक छ। साथै, प्राध्यापक तथा कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन प्रणाली विकास गरेर पारदर्शी, निष्पक्ष र प्रेरणादायी वातावरण तयार पार्न सकिन्छ। यसले दक्ष जनशक्ति टिकाइ राख्न र उत्तरदायी प्रशासन निर्माण गर्न सहयोग पुर्याउँछ। शिक्षण, अनुसन्धान र मूल्याङ्कन प्रणालीमा समन्वयात्मक सुधारका माध्यमबाट मात्र सुदूरपश्चिम विश्वविद्यालयले दीर्घकालीन शैक्षिक परिवर्तनको मार्ग प्रशस्त गर्न सक्छ।
आर्थिक पारदर्शिता र सुशासन
सुदूरपश्चिम विश्वविद्यालयमा सुशासन कायम गर्न आर्थिक पारदर्शिता अत्यावश्यक आधार हो। बजेट निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियामा सरोकारवालासँग छलफल गरी प्राथमिकता निर्धारण गर्नुले नीतिगत स्पष्टता मात्र होइन, संस्थाको उत्तरदायित्वशीलतासमेत प्रकट गर्छ। विश्वविद्यालयको बजेट विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक र स्थानीय समुदायसँग परामर्श गरेर तय गरिनु पर्दछ, जसबाट सार्वजनिक विश्वास बढ्नुका साथै खर्चको औचित्य पुष्टि हुन्छ। यस किसिमको सहभागीता आधारित वित्तीय निर्णयले नीतिगत अखण्डता र संस्थागत स्वामित्वलाई समेत सुदृढ गर्छ।
सेवा तथा सामग्री खरिद प्रक्रियामा खुला प्रतिस्पर्धा, गुणस्तरीय आपूर्ति र निष्पक्ष मूल्याङ्कन प्रणालीको कार्यान्वयनले भ्रष्टाचार न्यूनीकरण र स्रोतको दक्ष उपयोग सुनिश्चित गर्न मद्दत गर्छ। साथै, सूचनाको हकको पूर्ण पालना गर्दै प्रशासनिक, आर्थिक र शैक्षिक प्रक्रिया पारदर्शी बनाइनु अत्यावश्यक छ, जसले विश्वविद्यालयप्रतिको सार्वजनिक जवाफदेहिता र विश्वासलाई बलियो बनाउँछ। यदि विश्वविद्यालयले खर्च, योजना, र नीतिगत निर्णयहरू खुला रूपमा सार्वजनिक गर्न सुरु गर्छ भने त्यसले संस्थागत सुशासनको स्पष्ट सन्देश दिन्छ र दीर्घकालीन दिगोपनाको सुनिश्चितता गर्न सकिन्छ।
निस्कर्ष
सुदूरपश्चिम विश्वविद्यालयले आफ्ना समग्र क्याम्पस र विभागहरूमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन, अनुसन्धानमा आधारित शैक्षिक संस्कृति, उत्तरदायित्वयुक्त प्रशासन, पारदर्शिता, समावेशी वातावरण र विद्यार्थी सशक्तीकरण सुनिश्चित गर्न ठोस नीतिगत र व्यावहारिक सुधारका उपायहरू अघि सार्नु देखिन्छ। शैक्षिक, प्रशासनिक, संरचनागत, प्रविधिमैत्री र नीतिगत सुधार योजनाहरूले विश्वविद्यालयको समग्र प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने स्पष्ट सम्भावना बोकेको हुन्छ। यदि यी प्रस्तावित कार्यक्रमहरूलाई संस्थागत प्रतिबद्धता र दीर्घकालीन योजनाका साथ कार्यान्वयन गर्न सकियो भने विश्वविद्यालयले राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक शैक्षिक संस्था बन्ने यात्रालाई थप सबल बनाउन सक्छ।
योजना तर्जुमा र कार्यान्वयनबीचको दूरी हटाउँदै सुदूरपश्चिम विश्वविद्यालयले सुशासन, दक्षता र परिणाममुखी शैक्षिक अभ्यासलाई आत्मसात् गर्न सक्नुपर्छ। राजनीतिक हस्तक्षेपको अन्त्य, योग्यता र निष्पक्षता आधारित नियुक्ति प्रणाली, सरोकारवालाको सहभागीता, तथा सूचना प्रवाहको पारदर्शिता कायम गरिएमा संस्थामा विश्वास, सहकार्य र समर्पणको संस्कृति विकसित हुनेछ। यसरी सुनिश्चित सुधार प्रक्रियाले विश्वविद्यालयलाई सुदूरपश्चिम क्षेत्रको मात्र होइन, सम्पूर्ण देशको उच्च शिक्षाको मेरुदण्डका रूपमा स्थापित गर्ने दिशामा निर्णायक कदमको रूपमा कार्य गर्नसक्नेछ।
डम्मर सिंह साउद
उपप्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस
