दार्चुला – जिल्लाको महाकाली नगरपालिका–५, खलङ्गास्थित एनआईएमबी बैंक हुँदै मल्लो मोहती र वडा नम्बर ३ को जाइझुलतर्फ जाने पैदल मार्गमा वर्षदिनअघिदेखि खसेको ठूला ढुंगाले आवतजावतमा असहज बनाएको थियो। पटक–पटक स्थानीय तहमा ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नहुँदा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका युवाहरू आफैंले ढुंगा फुटाएर बाटो खुल्ला गरेका छन्।
१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेविसंघ दार्चुलाले श्रम शिविर सञ्चालन गर्दै ६ घण्टा लगातार मिहिनेत गरी बाटो सहज बनाएको हो। नेविसंघ दार्चुलाका अध्यक्ष रमेश भट्टका अनुसार, स्थानीय सरकार र वडा कार्यालयमा पटकपटक निवेदन दिँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर जनताको हितका लागि युवाहरु आफैं मैदानमा उत्रिएका हुन्।
श्रम शिविरमा नेविसंघका नेता धर्मेन्द्र जोशी, माधव भट्ट, दिपक भट्ट, अजय महर, मुकुन्द अवस्थी, तरुण दलका नेता केशव बुढाथोकी, रुपसिंह खाती, रमेश पाल तथा कांग्रेस महाकाली–५ का वडाध्यक्ष भुवनेश्वर अवस्थी लगायत स्थानीय मोहन लुहारले समेत सक्रिय सहभागिता जनाएका थिए।
अध्यक्ष भट्टका अनुसार, श्रम र श्रमिकप्रति समाज र राजनीतिक तहमा सम्मानको दृष्टिकोण विकास गर्नुपर्ने सन्देश दिनु पनि श्रम शिविरको उद्देश्य रहेको थियो।


