सिद्धटोपी खबर / दार्चुला: दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्ने ४,००० मिटरको उचाइमा अवस्थित अपि हिमाल बेसक्याम्पमा पहिलोपटक योग ध्यान शिविर सञ्चालन हुने भएको छ। स्थानीय पर्यटन प्रवर्द्धन गर्दै अपि क्षेत्रलाई आध्यात्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा अघि बढाउने उद्देश्यसहित अपि हिमाल गाउँपालिकाले आगामी जेठ १६ गते उक्त शिविरको आयोजना गर्न लागेको हो।
शिविरअघि, गाउँपालिका परिसरमै जेठ १२ र १३ गते योग, ध्यान र स्वस्थ जीवनशैलीको महत्वबारे विविध जागरण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराका अनुसार शिविरमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, आन्तरिक तथा बाह्य पर्यटक लगायत इच्छुक व्यक्तिहरूको सहभागिता रहनेछ। शिविरमा योग गुरु तथा सञ्चारकर्मी सिमोन न्यौपाने प्रमुख प्रशिक्षकका रूपमा रहनेछन्।
शिविरका क्रममा ‘स्वस्थ जीवन, खुशी जीवन र क्षमतावृद्धि’ विषयमा विशेष कार्यक्रम पनि आयोजना हुनेछ। यसलाई नेपाल सरकारका सह-सचिव राजन पौडेल, योग प्रशिक्षक न्यौपाने र अध्यक्ष बोहराले संयुक्त रूपमा सञ्चालन गर्ने कार्यक्रम रहेको छ।
दार्चुला सुदूरपश्चिमको एक विकट तर अपार सम्भावना बोकेको जिल्ला हो। अपि हिमाल गाउँपालिका भौगोलिक रूपमा हिमाली क्षेत्र भए पनि प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र धार्मिक सम्पदाले भरिपूर्ण क्षेत्र हो। यहाँ अवस्थित ७,१३२ मिटर अग्लो अपि हिमाल शिखर हाल ट्रेकिङ र पर्वतारोहण गन्तव्यका रूपमा लोकप्रिय बन्दै गएको छ।
पर्यटन विकासलाई प्राथमिकता दिँदै अध्यक्ष बोहराले आफ्नो कार्यकालमा होटल, होमस्टे तथा आवश्यक पूर्वाधार विस्तारमा जोड दिइएको बताए। ‘हामीले अपि हिमाल आउने पाहुनाहरूलाई कुनै असुविधा हुन नदिने गरी पूर्वतयारी गरिरहेका छौँ,’ उनले भने।
प्राकृतिक सौन्दर्य, शान्त वातावरण र हिमाली परिवेशले भरिएको अपि क्षेत्र मानसिक सन्तुलन, योग र ध्यानका लागि अत्यन्त उपयुक्त स्थान भएको आयोजकहरूको भनाइ छ। शिविरले दीर्घकालीन रूपमा अपि हिमाललाई योग, ध्यान र पदयात्राको अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा विकास गर्न योगदान दिने विश्वास लिइएको छ।

