दार्चुला – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुलाको दुहुँ गाउँपालिका र लेकम गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । बुधवार मन्त्रालयले निमित्त व्यवस्थामा सञ्चालन भइरहेका ती दुई स्थानीय तहमा स्थायी रूपमा प्रमुख प्रशासकीय अधिकृत पठाएको हो ।
दुहुँ गाउँपालिकामा शाखा अधिकृत दिनेश जोशी र लेकम गाउँपालिकामा दीपक राज जोशीलाई खटाइएको छ । हालसम्म दुहुँमा वीर सिंह धामी र लेकममा अम्भा दत्त जोशी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए ।
दार्चुलासहित अन्य जिल्लाका विभिन्न स्थानीय तहमा ६९ जना प्रमुख प्रशासकीय अधिकृत खटाइएका छन् भने ४५ जना गृह मन्त्रालयमा खटाइएको मन्त्रालय स्रोतले जनाएको छ ।
यसैबीच, दार्चुलाको व्याँस गाउँपालिका, अपिहिमाल गाउँपालिका, महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिका भने अझै पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन भइरहेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उपसचिवलाई सङ्घीय सरकारले प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउनुपर्ने व्यवस्था छ ।
