दार्चुला। सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिकलाई लक्षित गर्दै सरकारले सहुलियत दरमा पोषणयुक्त (फोर्टिफाइड) चामल वितरण कार्य अघि बढाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाका प्रमुख हर्कराज उपाध्यायका अनुसार, दार्चुलाको छाङरु, टिङ्कर, अपिहिमाल लगायतका दुर्गम क्षेत्रका नागरिकलाई स्टिम जिरा मसिना, अरुवा मोटा र सोना मन्सुली जातका पोषणयुक्त चामल बिक्री वितरण भइरहेको छ।
यस कार्यक्रमअन्तर्गत नेपालमा पहिलोपटक उत्पादन गरिएको पोषणयुक्त चामल सुदूरपश्चिम र कर्णाली प्रदेशमा विक्रि वितरण गरिएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाका अनुसार, सन २०२३ देखि नेपाल सरकारले कृषि, स्वास्थ्य, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा विश्व खाद्य कार्यक्रमसँगको साझेदारीमा यो अभियान सुरु गरेको हो।
गत आर्थिक वर्ष २०८१÷८२ मा दार्चुलामा ३०४.५ क्विन्टल पोषणयुक्त चामल वितरण गरिएको छ। कैलालीको टिकापुरमा उत्पादित ४०० क्विन्टल र जनकपुरबाट आयात गरिएका १२४० क्विन्टल चामल सुदूरपश्चिमका नौवटै जिल्लामा पठाइएको छ। टिकापुरमा जेठ १३ गतेदेखि मिल सञ्चालनमा आएको थियो।
५०.३ प्रतिशतले खाद्य असुरक्षित मानिएको सुदूरपश्चिम प्रदेशमा कुपोषण समस्या चिन्ताजनक देखिएको छ। ५ वर्ष मुनिका ३५ प्रतिशत बालबालिकामा पुड्कोपनाको समस्या र ३३.३ प्रतिशतमा कम तौल रहेको जनाइएको छ। दार्चुलामा चामल वितरण शाखा खलङ्गा, खण्डेश्वरी, कुणी, सुन्सेरा, घुसा, क्षेत्ती, नागु, राप्ला र दुम्लिङ्ग केन्द्रबाट भइरहेको छ।
२५ किलो चामलको बोरामा २४ किलो ७५० ग्राम चामल र २५० ग्राम पोषण एफआरके मिसाइएको हुन्छ, जसले गर्भवती, सुत्केरी महिला तथा बालबालिकाको पोषणमा सहयोग पुर्याउने विश्वास लिइएको छ।
