दार्चुला — व्याँस गाउँपालिका–२ की ४५ वर्षीया कुस्मा बुढाथोकीको आँखामा आँसु सुकेका छैनन्, मन अझै भतभती पोलिरहेको छ। जीवनमा सुखको पाना सायद कहिल्यै लेखिएको थिएन, बरु एकपछि अर्को गर्दै संसार नै अध्यारो बन्दै गएको छ।
३१ असारको बिहान ८ बजे, घरबाट बजार जाने भन्दै निस्किएका जेठा छोरा नारायण बुढाथोकी (२८) कहिल्यै नफर्किने भए। तीन छोरा र एक छोरीकी आमा कुस्माले निकै कम उमेरमै सन्तान जन्माइन्। त्यसबेला श्रीमान् नेत्र बुढाथोकी पनि सन्तानको रमाइलोमा रमाएका थिए। तर त्यो खुसी लामो समय रहन सकेन।
पहिलो छोरा दिनेश पाँच वर्षको उमेरमै निमोनियाले लियो। गाउँमा उपचारको सुविधा नहुँदा भारतको पिथौरागढसम्म पुयाए, तर बचाउन सकेनन्। केही समयपछि श्रीमान् नेत्रको पनि मृत्यु भयो, अहिले १८ वर्ष बितिसकेको छ।
दोस्रो छोरा सुरेश ९ वर्षको हुँदा फोक्सोको क्यान्सरले ज्यान लियो। उपचारमा घरको सम्पत्ति नै लगाइन्, तर छोरा फर्किएन।
अहिले जेठा छोरा नारायणको मृत्युले कुस्माको कोख रित्तिएको छ, सपना उजाडिएको छ। बाँकी छोरी भावना (१९) मात्रै। जीवनमा एउटा पछि अर्को शोकको पहाड बोक्दै कुस्मा आज पनि आँशुको धारासँगै बाँचिरहेकी छन्।
