दार्चुला । महिलाको अधिकार, लैङ्गिक समानता तथा राजनीतिक नेतृत्वमा महिलाको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन भइरहेको ‘अनुपम अभियान’ अन्तर्गत दार्चुलाको महाकाली नगरपालिकाका विभिन्न स्थानमा कोणसभा कार्यक्रम सम्पन्न भएका छन्।
अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) को पहलमा सञ्चालित पाँचवर्षे अभियान (२०२२–२०२७) अन्तर्गत महाकाली नगरपालिका वडा नं. ७ धाप, वडा नं. ४ खलंगा बजार तथा बाङ्गाबगर क्षेत्रमा कोणसभा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा महिलाको अधिकार, समानता, समावेशी समाज निर्माण, महिला हिंसाको अन्त्य तथा राजनीतिक क्षेत्रमा महिलाको नेतृत्व स्थापित गर्ने विषयमा आवाज उठाइएको थियो। कार्यक्रममा विभिन्न उमेर समूहका महिला तथा स्थानीयको सहभागिता रहेको थियो।

अग्रणी महिलावादी अभियन्ता रीता थापाका अनुसार यस अभियानको मुख्य उद्देश्य महिलालाई राजनीतिक रूपमा सचेत, सक्षम र नेतृत्वदायी भूमिकामा स्थापित गर्नु हो। विशेषगरी २०८४ सालको निर्वाचनमा महिलालाई वडा अध्यक्षदेखि गाउँपालिका तथा नगरपालिकाको प्रमुखसम्मका पदमा उम्मेदवारी दिन प्रोत्साहित गर्ने अभियानको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो।
महिलालाई केवल सहभागितामा सीमित नराखी नीति निर्माण र निर्णय प्रक्रियाको नेतृत्व तहसम्म पुर्याउन अभियानले जोड दिएको छ।

अनुपम अभियानअन्तर्गत कोणसभा तथा सचेतनामूलक कार्यक्रम भोलि दुहुँ गाउँपालिका वडा नम्बर ०३ र ब्यास गाउँ पालिका वडा नम्बर ०६ का विभिन्न स्थानमा समेत सञ्चालन हुने जनाइएको छ।
