डडेलधुरा। पश्चिम सेती चार सय केभी विद्युत् प्रसारण आयोजनाको काम सुरु भएको छ । बझाङ जिल्लाबाट डोटी, डडेलधुरा हुँदै कञ्चनपुरसम्म प्रसारण लाइन निर्माणका लागि काम सुरु भएको हो ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले प्रस्तावित आयोजनाका लागि हाल वातावरणीय अध्ययन ९प्रारम्भिक वातावरणीय परीक्षण० को कार्य गर्न दुईवटा कम्पनी खटाएको छ ।

आयोजनाको काम दुई खण्डमा हुन लागेको जानकारी डिभिजन वन कार्यालय डडेलधुरालाई भएको वन अधिकृत रामविचारी ठाकुरले बताए। उनका अनुसार डडेलधुराको नवदुर्गा गाउँपालिका, गन्यापधुरा गाउँपालिका, आलिताल गाउँपालिका र परशुराम नगरपालिका भएर प्रसारण लाइन कञ्चनपुर पु९याउने प्रस्तावना गरिएको छ । वन क्षेत्रको अध्ययन गर्न दुईवटा कम्पनीका विज्ञ सहितको टोली डडेलधुरा पुगेको उनले बताए ।
नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत आयोजनाको काम सुरु गरिएको पत्र प्राप्त भएको जानकारी उनले दिए । अध्ययनका लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको सेयर लगानीमा स्थापित सरकारी स्वामित्व र नियन्त्रणमा रहेको सार्वजनिक निकाय एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड र इटेको–आरआईएमसी श्रेष्ठ जेभी कम्पनीले अध्ययन थालेको छ ।
प्रश्चिम सेतीसँगै बझाङ जिल्लामा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण आयोजनाको काम थालिएको अध्ययन गरिरहेको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडका वनविज्ञ कृष्णप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार बझाङको जयपृथ्वी नगरपालिका–१ देखि डोटीको शिखर नगरपालिका–१०, वनलेकसम्म करिब ६० किलोमिटर दूरीको प्रसारण आयोजना एनआईए इन्जिनियरिङले निर्माण गर्नेछ । यो कम्पनीले १४८ टावर निर्माण गर्नेछ । यसको प्रभावित क्षेत्र डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका–४ रहेको छ । नवदुर्गा गाउँपालिका–४ मा चारवटा टावर पर्नेछ ।
