दिपक खाती, दार्चुला । नेपाली सेनाको श्री दार्चुला टिंकर (तुषारपानी-टिंकर) सडक आयोजनाले गोरखकाली अष्ठमीका दिन ब्याँस गा.पा. वडा नं. ४ सुनसेरामा अवस्थित दार्चुलाको दुहुँ ब्याँस क्षेत्रकै प्रसिद्ध शक्तिपिठ गोरखनाथ (चिलघल्या) मन्दिरको सौन्दर्यकरण गर्नुका साथै मन्दिर प्राङ्गणमा “गोरक्ष बाटीको” को निर्माण गरी स्थानीय श्री जय गोरखनाथ सचेतना समाज सुनसेरा ब्याँस-४ लाई हस्तान्तरण गरेको दार्चुला टिंकर सडक आयोजनाका आयोजना प्रमुख प्रमुख-सेनानी राजेश कटवालले जानकारी दिए । उक्त अवसरमा श्री दार्चुला टिंकर (तुषारपानी-टिंकर) सडक आयोजनाका आयोजना प्रमुख,कटवालले श्री गोरखनाथ (चिलघल्या) मन्दिरको विधिवत रुपमा पूजा गर्नुका साथै, बाटीकामा स्थानीय विद्यार्थी बालबालिकाहरुबाट वृक्षारोपण गराई बालवालिकाहरुलाई स्टेसनरीका सामाग्रीहरु समेत वितरण गरेकाछन् ।


हिन्दु धर्ममा गुरु गोरखनाथ भगवान् शिवका १०८ अवतारमध्येका एक मानिने अति उच्च कोटीका सिद्ध योगी र नाथ सम्प्रदायका प्रवर्तक भएकाले गोरखनाथ मन्दिमा भगवान शिवको मुर्ति स्थापनाले मन्दिरको सुन्दरता,आकर्षण संगै महिमा पनि बढाएको छ ।


गोरखनाथ मन्दिर दुहुँ ब्याँस क्षेत्रमा चिलघोले मन्दिरका नामले प्रचलित छ । स्थानीय बुढापाखाहरुका अनुसार गोरखनाथ देवता चिलको रूपमा आएर घोल(गुड) बनाएर बसेको हुनाले यसलाई चिलघोले नामले चिनिन गएको किम्बदन्ती रहेको छ ।
आफ्नो आस्थाको केन्द्र गोरखनाथ मन्दिरलाई सौन्दर्यात्मक सजावट गर्न गोरक्ष बाटी निर्माण,मन्दिरको संरक्षण,व्यवस्थापन तथा धार्मिक वातावरणलाई थप व्यवस्थित र आकर्षक बनाउन नेपाली सेनाले पवित्र र महत्त्वपूर्ण काम गरेको भन्दै ब्याँसका स्थानीय एवं जय गोरखनाथ सचेतना समाज व्यास ४ सुन्सेराले सामाजिक संजाल मार्फत सेनाले गरेको पवित्र धार्मिक कार्यको प्रसंसा गर्दै दार्चुला टिंकर सडक आयोजनाका प्रमुख सेनानी(कर्णेल) राजेश कट्वाल सहित दार्चुला टिंकर सडक आयोजना परिवारलाई गोरखनाथ देवको असीम कृपा सधैं रहोस्,भन्दै धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय