दिपक खाती, दार्चुला । नेपाली सेनाको दार्चुला टिंकर सडक आयोजनाको तर्फबाट ब्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेरामा रहेको दुहुँ ब्याँस क्षेत्रकै प्रसिद्ध एवं प्रमुख शक्तिपिठ गोरखनाथ मन्दिरमा पुजापाठ गरी भगवान शिवको मुर्ति स्थापना,मन्दिरमा दान पेटिका स्थापना संगै उक्त मन्दिरलाई पर्यटकिय गन्तव्य बनाउने उदेश्यले मन्दिर सजावटका लागी आवश्यक संरचना निर्माण गरिरहेको नेपाली सेनाको दार्चुला टिंकर सडक आयोजनाका प्रमुख सेनानी(कर्णेल) राजेश कट्वालले जानकारी दिए ।

जेठ ८ गते सोमबार गोरखनाथ मन्दिरमा दार्चुला टिंकर सडक आयोजनाको तर्फबाट आयोजनाका प्रमुख सेनानी कट्वाले पुजापाठ गरि मन्दिरमा भगवान शिवको मुर्ति स्थापना गरेका थिए ।
हिन्दु धर्ममा गुरु गोरखनाथ भगवान् शिवका १०८ अवतारमध्येका एक मानिने अति उच्च कोटीका सिद्ध योगी र नाथ सम्प्रदायका प्रवर्तक भएकाले गोरखनाथ मन्दिमा भगवान शिवको मुर्ति स्थापनाले मन्दिरको सुन्दरता,आकर्षण संगै महिमा पनि बढाएको छ ।

गोरखनाथ मन्दिर दुहुँ ब्याँस क्षेत्रमा चिलघोले मन्दिरका नामले प्रचलित छ । स्थानीय बुढापाखाहरुका अनुसार गोरखनाथ देवता चिलको रूपमा आएर घोल(गुड) बनाएर बसेको हुनाले यसलाई चिलघोले नामले चिनिन गएको किम्बदन्ती रहेको छ ।
आफ्नो आस्थाको केन्द्र गोरखनाथ मन्दिरमा भगवान शिवको मुर्ति स्थापना,मन्दिरको संरक्षण, व्यवस्थापन तथा धार्मिक वातावरणलाई थप व्यवस्थित र आकर्षक बनाउन नेपाली सेनाले पवित्र र महत्त्वपूर्ण काम गरेको भन्दै ब्याँसका स्थानीय एवं जय गोरखनाथ सचेतना समाज व्यास ४ सुन्सेराले सामाजिक संजाल मार्फत सेनाले गरेको पवित्र धार्मिक कार्यको प्रसंसा गर्दै दार्चुला टिंकर सडक आयोजनाका प्रमुख सेनानी(कर्णेल) राजेश कट्वाल सहित दार्चुला टिंकर सडक आयोजना परिवारलाई गोरखनाथ देवको असीम कृपा सधैं रहोस्,भन्दै धन्यवाद समेत दिएका छन् ।

