दार्चुला । रेडीयो चौलानी टुडे र राजधानी दैनिक पत्रिका दार्चुला संवाददाता अमर खत्री माथी शैल्यशिखर नगरपालिकाको कार्यकक्षमै सांघातिक आक्रमण भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका प्रमुख विजयसिंह धामीका स्वकीय सचिव भनेर चिनीने नगरपालिका कर्मचारी इन्द्रसिंह धामी(नविन), इन्जीनियर योगेश सिंह धामी, कार्यपालिका सदस्य चक्र लुहार, राजेन्द्र सिंह विष्ट लगाएतको नगरपालिकाको कर्मचारीको टोलीले समाचार लेखेको भन्दै निर्घात कुटपीट गरेका हुन ।
पत्रकार खत्रीले नगरपालिकाको विषयमा समाचार लेखेको भन्दै पालिकाको सभाहलमा बन्धक बनाएर कुटपीट गरेको घाईते पत्रकार खत्रीले बताए । कुटपीट बाट घाइते पत्रकार खत्रीको टाउको, मुख र हातमा चोट लागेको छ । खत्री अहिले गोकुलेश्वर अस्पतालमा भर्ना भएका छन् । घाईते पत्रकार खत्री समाजवादी प्रेस संगठन नेपालका दार्चुला जिल्लाका अध्यक्ष समेत हुन । आफन्तको सहयोगमा खत्रीले पिडकलाई कानूनी दायरामा ल्याउन इप्रका गोकुलेश्वरमा उजुरी दिएका छन् ।

