दार्चुला । सदरमुकाम खलंगाबाट  कुञ्चा उठाएर गाउँ उक्लिएका दार्चुलाको व्यासी सौका समुदायको कुञ्चा बाटोमै रोकिएको छ । गत आइतबार छाङरु र तिंकर गाउँ जानका लागि जिल्ला सदरमुकाम खलंगाबाट नेपाल–भारत जोड्ने झोलुंगे पुल भएर भारतको बाटो हुदै छाङरु तिंकरका लागि गएको टोली हिमपातले गर्दा विच बाटोमै रोकिएको हो । हिमपातले कुञ्चा सरेका सौका समुदायलाई थातथलो पुग्न समस्या भएको छ । आइतबार सदरमुकाम क्षेत्रबाट गएको टोली अहिले बुदी क्षेत्रमा रोकिएको व्यासँ गाउँपालिका वडा –२ का वडा अध्यक्ष धिरन सिह बुढाथोकीले जानकारी दिए ।

बुदी भन्दा माथिल्लो क्षेत्रमा हिमपात भएपछि सौका समुदायको कुञ्चा बुदीमै रोकिएको अध्यक्षले बताए । वैशाख दोस्रो साता गर्मी सुरु हुन थालेपछि आफ्ना बस्तुभाउ र लालाबालासहित हिमाली भेग उक्लिएका सौका समुदायको करिब ७० जनाको परिवार बुदी क्षेत्रमा रहेको बताइएको छ । सौका समुदाय गर्मीमा हिमाली भेग र जाडोमा बेंसी क्षेत्रमा हुने बसाइँसराइलाई कुञ्चा भन्ने गर्दछन् ।

बाटोमा हिमपातले गर्दा मानिस र बस्तुभाउ हिँड्न सक्ने अवस्था नरहेकाले कुञ्चा बाटोमै बस्नुपरेको स्थानीयहरुले बताएका छन । यो पटक पनि स्वदेसबाट भरपर्दो बाटो नहुँदा व्यासी सौकाहरूका कुञ्चा भारतको बाटो हुँदै व्यास क्षेत्रतर्फ प्रस्थान भएको हो । बुदी क्षेत्रमा सोमबार विहानै देखि हिमपात भइरहेको बताइएको छ ।

अहिले बुदी क्षेत्र लगायत हिमाली क्षेत्र व्यासँ गाउँपालिकामा सम्पर्क हुन समेत नसकेको वडा अध्यक्ष बुढाथोकीले जानकारी दिए । व्यासँ गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । आइतबार राती देखि नै गाउँपालिकाका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको स्थानीय नगेन्द्र तिंकरीले जानकारी दिए ।

भारतीय प्रशासनको अनुमति लिएर तिङ्करवासी आइतवार कुञ्चा सरेका थिए । मौसममा केही सुधार आए अझै व्यासी सौकाहरू गाउँ उक्लिने तयारीमा रहेका छन । परापूर्वदेखि सौका समुदायका मानिसहरू हिउँदका ६ महिना बेंसी (सदरमुकाम खलंगा) र गर्मीयामको ६ महिना व्यास (हिमाली क्षेत्र)मा बसोबास गर्ने गरेका छन । व्यासीहरु खलंगाबाट हिँडेर पहिलो दिनमा एलागाड, दोस्रो दिन पाङ्ला तेस्रो दिन बुदी चौथो दिन छाङरु तिङ्कर पुग्ने गरेका छन ।

व्यासी सौका समुदाय गएको मङ्सिरमा ढोकामा ताला लगाएर सदरमुकाम खलङ्गा झरेका थिए । तिङ्करवासीहरु गाउँ फर्किएपछि तरकारी लगायत बाली भित्र्याउने काम गर्ने बताइएको छ । छाङरुमा ११० परिवार तथा तिङ्करमा ७० परिवारको बसोबास रहेको छ । नेपाल–भारत जोड्ने सीतापुल नाकाबाट व्यासी सौका समुदाय भारतको बाटो हुँदै तिङ्कर पुग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय