अंकित कुँवर धनगढी । दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ५ धौलाकोटका १८ बर्षीय प्रेमराज बडुका बाबु कृष्णानन्द बडुको दुबईमा बि.सं. २०७९ साल कात्तिक ६ गते मृत्यु भएको तर एक्कासी कार्तिक ७ गते मृत्यु भएको खबर प्राप्त भयो । तर मृत्यु नभएर हत्या गरिएको आशंका परिवारको छ ।

उनी चार वर्ष अगाडि वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएका थिए । मृतक बडुको परिवारमा रोजिरोटी चलाउने एक जना मात्रै थिए जसको निधन भईसकेको छ ।

मृतक बडूका छोरा प्रेमराज बडु बिगत चार महिना देखि बडू आफ्नो बुवाका मृत्युको कारण खोज्दै सरकारी निकायमा पुगेका छन् । बुबाको मृत्यु भएको सात महिना बितिसक्दा समेत के कारणले मृत्यु भएको र कसरी मृत्यु भएको भन्ने विषयमा अहिले सम्म आफूहरूलाई कुनै जानकारी नभएको बडूले बताएका छन् । उनले भने, “मेरो बुवाको मृत्यु भएको अहिले सात महिना बित्ती सक्यो । विदेशमा बाबाको के कारणले मृत्यु भयो र कसरी मृत्यु भयो भन्ने कुरा हामीलाई अहिले सम्म पनि थाहा छैन । मेरो बुवाको मृत्यु नभएर हत्या भएको हो भन्ने भन्ने शङ्का हामीलाई लागेको छ ।”

बुवा बितेको सात महिना बितिसक्दा पनि सरकारबाट आफूहरूले कुनै किसिमको सहयोग नपाएको प्रेमले बताए । न्यायका लागि सुदूरपश्चिम मुख्यमन्त्री कार्यलय, भौतिक पुर्वाधार बिकास मन्त्रालय, प्रदेश प्रहरी प्रमुख कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा अन्य सरकारी कार्यालयहरुमा धाउनुका साथै बिभिन्न राजनितीक दलका नेताहरुलाई समेत प्रतक्ष भेटर आर्थिक सहयोगका लागि आग्रह गर्दा पनि कहीँकतैबाट पनि सहयोग नभएर आश्वासन बाहेक केही पनि नपाएको प्रेमराजले बताए ।

धनगढीको हसनपुरमा बिगत चार बर्षदेखि भाडामा बस्दै आएका प्रेमराजको परिवारलाई अहिले दैनिक एक छाक टार्न धौधौ भएको छ । नेपाली दूतावासले पहल नचालिदिँदा बुवाले काम गर्ने कम्पनी मार्फत पाउनु पर्ने रकम समेत प्रेमको परिवारले पाएका छैन । उनले भने ‘बुवाको दुबईमा आफ्नै गाडी छ तर त्यो गाडी दुबईबाट नै बिक्री गरेर पैसा नेपाल पठाईदिन नेपाली दुताबास संग आग्रह गर्दछु । बुवाले आफ्नो कमाईको महिनाको दूई हजार (दुबैको) रुपैयाँ त्यहाँकै एक बैडमा पैसा जम्मा गर्दे आएका थिए त्यो रुपैयाँ पनि कुन बैंकमा जम्मा भएको छ र त्यो रुपैयाँ दुताबास मार्फत नेपाल पठाईदिन आग्रह गर्दछु ।”

दुबई सरकारबाट आफ्नो बुवाको मेडिकल रिपोट र पुलिस रिपोर्ट समेत नआएको प्रेमले बताएका छन् । उनले यो अवस्थामा आफ्नो परिवारलाई आफ्नै जिल्लाका जनप्रतिनिधिले पनि समेत सहयोग नगरेको समेत गुनासो गरेका छन् । उनले भने, “मेरो परिवारलाई मेरै जिल्लाका नेताहरूले पनि सहयोग गरेनन् । दार्चुलाका संघीय सांसद दिलेन्द्रप्रसाद बडूलाई पनि भेटेरै कुरा गर्दा पनि उनले मेरो कुरामा ध्यान दिनुभएन । म फेरी पनि उनलाई मलाई सहयोग गरिदिन आग्रह गर्छु र मेरो यो कुरालाई केन्द्र सरकार सम्म पुर्याई न्याय दिलाउन पनि आग्रह गर्दछु ।”

यस्तै, उनले स्थानीय सरकार ब्यास गाउँपालिकाले पनि आफुलाई कुनै प्रकारको सहयोग तथा राहत गर्ने आश्वासन दिए पनि अहिलेसम्म त्यो राहत नमिलेको बताए । उनले भने, “मेरो परिवारको यो समस्यालाई गाउँपालिकाले प्रदेश सरकार र केन्द्रिय सरकार सम्म पुर्याई सहयोग तथा न्याय दिन गराईदिन आग्रह गर्दछु ।”

उनले नेपालगञ्ज बसोबास गर्ने गणेश केसीले बाबुलाई सापटी भनेर मागको पाँच लाख रुपैयाँ पनि नदिएको बताए । उनले भने, “ मैले पटक पटक केसीलाई फोन सम्पर्क गर्दा, तिम्रो बाबुको पैसा म संग छ भन्नुभएको थियो तर आजकाल केसी सम्पर्कबिहीन छन् । फोन गर्दा फोन अफ गरेको छ ।”

बिगत चार महिनादेखि सरकारबाट कुनै न्याय तथा सहयोग नपाएका प्रेमले अहिले सरकार नभएको आभास गरेका छन् । उनले पत्रकार तथा मिडियाकर्मीहरुलाई उक्त घटनाको आवाज उठाई न्याय दिलाउन पनि आग्रह गरेका छन् ।

एसइई पास भएका प्रेमले नागरीकता बनिसकेको र आफ्नो योग्यता अनुसारको काम गर्न सक्ने बताउदै जुनकुनै कार्यलयमा भएपनि कार्यलय सहयोगीकै जागरीको लागि माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय