दार्चुला । जिल्लाको व्याँस गाउँपालिका–१ छाङरुमा चुच्चे नक्सा अंकित राष्ट्रिय स्तम्भमा गाउँपालिकाले नेपाली झण्डा फहराएको छ।
शनिबार व्याँस गाउँपालिकाले राष्ट्रिय स्तम्भमा नेपाली झण्डा फहराएको हो। व्याँस गाउँपालिकाले ०७९ असोजमा करिब १५ लाख बढीको लगानीमा छाङरुमा चुच्चे नक्सा अंकित राष्ट्रिय स्तम्भ बनाएको थियो।
छाङरुमा निर्माण गरिएको राष्ट्रिय स्तम्भको उचाइ १५ फिटको रहेको छ । भारतीय बाटोको प्रयोग गरेर व्याँस पुगेको गाउँपालिकाको कार्यपालिकाको टोलीले छाङरुमा निर्माण गरिएको राष्ट्रिय स्तम्भमा नेपाली झण्डा फहराएको हो। भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमुनिका बस्ती छाङरु र तिंकर पुग्न नेपाली भूमिमा बाटो नहुँदा भारतको बाटो प्रयोग गर्नु पर्ने त्यहाँका बासिन्दाको बाध्यता छ।
केपी शर्मा ओली नेतृत्वको सरकारको पाला भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिएको थियो। जसलाई चलनचल्तिको भाषामा चुच्चे नक्सा भनेर चिनिन्छ।
