दार्चुला । यार्सागुम्बा संकलन गरी घर फर्किरहेकी एक बालिकाको हिउमा चिप्लिएर मृत्यु भएको छ ।
जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १४ वर्षीया आरती कार्कीको उपचारका क्रममा भारतको हल्द्वानीमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार व्याँस गाउँपालिकाको हुमदुम्ती यार्सापाटनमा शुक्रबार हिउमा चिप्लिएर बालिका घाइते भएकी थिइन् ।
परिवारका सदस्यले उपचारका लागि दार्चुला जिल्ला अस्पतालमा भर्ना गरेका थिए। अस्पतालले थप उपचारका लागि भारतको पिथौरागढ रेफर गरेको थियो। पिथौरागढमा पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि हल्द्वानी रेफर गरिएको थियो ।
बालिकाको निधनमा महेन्द्र नमुना माध्यमिक विद्यालयले आज शोक बिदा गरेको छ ।

