कैलाली। मङ्गलबार दिउँसो दुर्घटनामा परी निधन हुनुभएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको निधनले बझाङ जिल्ला शोकमा डुबेको छ । मन्त्री भई सकेपछि पहिलो भ्रमणमा जिल्ला आउन लाग्नु भएका मन्त्री सिंहको आगमनपछि उहाँको स्वागतका लागी विभिन्न ठाउँमा कार्यक्रमको समेत तय गरिएको थियो । जिल्लाको जनप्रिय नेताको स्वागतका लागी राखिएका मालासमेत स्वागत गर्न नपाउँदै ओइलिएको छ ।

मन्त्री जिल्ला आउने खबरले उत्साहित बनेका जिल्लावासीमा दुर्घटनाको खबरले एकाएक स्तब्ध बनाएको छ । बझाङको प्रदेश निर्वाचन क्षेत्र ९क० निर्वाचित मन्त्री सिंह जिल्लाको जनप्रिय नेताका रूपमा थिए । लामो समय देखि नेपाली कांग्रेसको राजनीतिमा संलग्न मन्त्री सिंह बझाङ जिल्लामा बसेर विभिन्न सामाजिक कार्यहरूमा संलग्न भएका कारण उनको लोकप्रियता जिल्लामा राम्रो थियो । मन्त्री सिंहको निधनले सिङ्गो जिल्लावासी अहिले शोकमा छन् ।

मन्त्री पदमा नियुक्त भएपछि पहिलो पटक आफ्ना मतदातालाई खुसी बाँड्ने तथा कुल देवताको पूजा गर्ने, कार्यालय प्रमुखहरूलाई निर्देशन दिन तथा विकास निर्माणका कार्यहरूको अनुगमन गर्न उनी आफ्नो गृह जिल्ला जाँदै थिए। उनको निधन भएको खबरपछि सदरमुकाम चैनपुर लगायत जिल्लाभरि नै मन्त्री सिंहको मृत्युको शोकमा बजार तथा ग्रामीण क्षेत्रसमेत चकमन्न छन् ।

उहाँ संलग्न रहेको राजनीतिक दल नेपाली कांग्रेस मात्र नभएर अन्य दलहरूले समेत जिल्लाले एक कुशल, इमान्दार र निष्ठावान् नेता गुमाएकोप्रति गहिरो दुख प्रकट गरेको छ । प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले जिल्लाले होनहार नेता गुमाएको बताउँदै दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताए ।

यस्तै, नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले पनि जिल्लाले एक असल राजनीतिज्ञ गुमाएको बताए । सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीले जनताले प्रिय नेता गुमाउनु पर्दा जिल्ला नै मर्माहित भएको र बझाङको राजनीतिले अपूरणीय क्षति भोग्नु परेको समेत बताए । जिल्लास्थित सरकारी कार्यालयमा मात्र नभई विभिन्न सामाजिक सङ्घ संस्था, नागरिक समाजलगायतका शोक वक्तव्य निकाल्दै जिल्लाको एक आदर्श ढलेको बताएका छन् ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष दान बहादुर सुर्मेलीले भने, “मन्त्रीज्यू सादगी जीवनशैली, निष्ठावान् तथा विकास प्रेमी नेता थिए । कार्यकर्ताका माझमा समेत झन् लोकप्रिय उहाँ मन्त्री भई सकेपछि जिल्लावासीले जिल्लाको विकास र समृद्धिका लागी ठुलो आस गरेका थिए, तर के गर्नु हुने हार दैव न टार भने जस्तै भयो ।” अध्यक्ष सुर्मेलीले मन्त्री सिंहको शोकमा जिल्लामा व्यापार व्यवसाय बुधबार बिहानदेखि दिउँसो ३ बजे सम्म बन्द गरेको समेत बताए ।

मन्त्री सिंहको शोकमा जिल्ला भरिका सम्पूर्ण सरकारी कार्यालय समेत बन्द भएका छन् भने राष्ट्रिय झण्डा समेत आधा झुकाइएको छ । २०३४ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा संलग्न मन्त्री सिंह जिल्लाको नाम चलेको अधिवक्ता समेतथिए । जिल्लावासीलाई साइपाल नाकालाई वैधानिक नाका बनाउने, चैनपुर ताक्लाकोट सडकलाई प्राथमिकतामा राखेर विकास गर्ने, जयपृथ्वी राजमार्गको स्तरोन्नति गर्ने लगायतका दर्जनौँ विकास निर्माणका कामप्रति स्थानीयले ठुलो भरोसा गरेका थिए ।

सामान्य नागरिकहरूलाई समेत गम्भीर भएर कुरा सुन्ने, काम होला नहोला प्रयास गर्ने बानीका कारण पनि उहाँको लोकप्रिय केन्द्रीय तहभन्दा ग्रामीण समाजमा धेरै प्रिय भएको स्थानीयको भनाइ छ । साइपाल गाउँपालिकाका पूर्व अध्यक्ष राजेन्द्र धामीले भने, “जिल्लाको उत्तरी क्षेत्र तथा चीनसँग सीमा जोडिएको साइपाल गाउँपालिकामा रहेको उरै नाकालाई वैधानिक नाकाका रूपमा स्थापित गर्न र चैनपुर ताक्लाकोट सडकको निर्माण कार्यलाई समेत छिटो छरितो गर्न आवश्यक पहल गर्न मुख्यमन्त्री सहित उहाँ लगायतको टोलीले हेलिकप्टरबाट निरीक्षण गर्ने योजना थियो । सबैले यी एजेण्डालाई चुनावी एजेण्डा मात्र बनाउने गरेको तर पछिल्लो समयमा मन्त्री सिंह भने यसको बारेमा निकै चिन्तित भएर लागेका थियो । अब त सबै विकासका सपनाहरूको आस मर्‍यो ।” उनले बझाङको विकासका लागी पछिल्लो समयमा उनको क्रियाशीलता निकै बढेकोले पनि स्थानीयहरूको समेत उनीप्रति ठुलो भरोसा रहेको समेत बताए ।

मन्त्री सिंहको निधनपछि सामाजिक सञ्जाल समेत रङ्गिएको थियो । उहाँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिनुहुन्थ्यो । मन्त्री सिंह बझाङ जिल्लाका सबै नेताहरू भन्दा गाउँमै बसेर कार्यकर्ताका काम तथा विभिन्न सामाजिक कार्यमा लाग्ने नेताका रूपमा चिनिन्थे ।

शनिबार अन्त्येष्टि गरिने

स्वर्गीय मन्त्री सिंह र उनकी धर्मपत्नी अमृता सिंहको आउँदो शनिबार सदरमुकाम चैनपुर नजिकै रहेको सेती नदीको दोभानमा अन्त्येष्टि गरिने छ । पारिवारिक स्रोतका अनुसार मन्त्री सिंहका माइला छोरा वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहेकाले उहाँ आएपछि मात्र हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिने भएको हो । मन्त्री सिंहका कान्छा छोरा बिहीबार इजरायलबाट आउने समेत बताइएको छ । उनका दुई छोरा, बुहारी र नाति नातिनी छन् ।

मन्त्री सिंहको शव बुधबार नेपाली सेनाको हेलिकप्टर मार्फत बझाङ लगेको छ भने अहिले जिल्ला अस्पताल बझाङमा सुरक्षित राखिएको छ । धनगढी खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय