दार्चुला । नागरिक दबाब समूहको दबाबपछि तिंकर सडकको मोहती खण्डमा खाल्डा पुर्ने काम सुरु भएको छ । तिंकर सडकको मोहती खण्डको सडकमा खाल्डाखुल्डि हुँदा बर्खायाममा हिलाम्य भएर बालबालिका, बृद्धबृद्धा र अन्य पैदलयात्रीहरुलाई समस्या भएको भन्दै सडकमा रहेका खाल्डाखुल्डि पुर्न कार्यालयलाई केहि दिन अघि नागरिक दबाब समूहले दबाब दिएका थिए ।
महाकाली कोरिडोर सडक कार्यालयले जेठ १८ गते नै परिपत्र गरेर बसपार्कदेखि रिङनेतालसम्मको सडकमा ढुंगा, माटो लगायतका निर्माण सामग्री थुपारेको, सडक सीमा अतिक्रमण गरी संरचना बनाएको, किचेन÷बाथरुमबाट निक्सने फोहोर पानीको पाइप सडक ड्रेनमा छोडेको, घर निर्माणका लागि भित्ताबाट निस्केको माटो सडक मै थुपारेको कारण सडकको आवागमनलाई बाधा पुर्याएको भन्दै आवश्यक सहयोग गरीदिन महाकाली नगरपालिकालाई अनुरोध गरेको थियो ।

कार्यालयले पटक पटक मौखिक रुपमा जेठ १८ गते लिखित रुपमा सडक अबरोध गर्ने उपर्युक्त कार्यहरु रोक्न नगरपालिका, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयलाई अनुरोध गरेको भएपनि सडकमा रहेका निर्माण सामग्री, सडकमा छोडिएका पाइप र अतिक्रमण गरी निर्माण गरिएका संरचना नहटाइदा सडक आवागमन र सडक स्तरोन्नतिको काममा समस्या भएको कार्यालय प्रमुख जोशीले बताए । स्थानीयले सडकमा निर्माण सामग्री राख्ने, पाइप छोड्ने, अवैध संरचना बनाएर सडक निर्माण कार्यमा असहयोग गरेको तथा अन्य निकायहरुले पनि यसप्रति चाँसो नदेखाएको कार्यालय प्रमुखको भनाई छ ।
