दार्चुला । जिल्लामा मानव अधिकार उल्लङ्घनका घट्नामा बृद्धि भएको इन्सेक दार्चुलाको तथ्यांकले देखाएको छ ।
वितेको ६ महिना सम्म जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनामा बृद्धि भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक दार्चुलाको तथ्यांकमा छ ।

मंगलबार दार्चुला विकास संगठनको सभाहलमा आयोजना गरिएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्धवार्षिक समिक्षा गोष्ठिमा जिल्लामा बलात्कार र जबरजस्तीकरणीका घटनाहरु ७ वटा घटेको र जसमध्ये ५ जना बालिका र २ जना महिला रहेका छन ।
यस्तै महिला अधिकार घरेलु हिंसाका २८ वटा घटनाहरु घटेको इन्सेक दार्चुलाको प्रतिवेदनमा उल्लेख गरिएको छ । वितेको ६ महिना सम्म जिल्लामा १ वटा बहुबिबाहको घटना घटेको इन्सेक जिल्लाप्रतिनिधि नरेन्द्र सिह कार्कीले जानकारी दिए । जिल्लामा बालअधिकार बालबालिका माथि हुने यौन दुव्र्यवहार बलात्कार बालविबाह घटनामा कमी आउन नसकेको इन्सेक दार्चुलाले जनाएको छ ।
आर्थिक अवस्था कमजोर हुदा बालबालिका बालश्रम लगायत जोखिम पुर्ण काम गर्न बाध्य हुने गरेको इन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।जिल्लामा अझै कुपोषणको अवस्थामा कमी नआउनु, स्वास्थ्य संस्था बढेपनि गुणस्तरतर्फ सरोकारवालाहरुको ध्यान नगएको प्रतिवेदनमा उल्लेख गरिएको छ । इन्सेक दार्चुलाले लम्पी स्कीन रोग फैलिदा जिल्लाभरी अहिले सम्म गाईगोरु बाच्छाबाच्छी २८ हजार ९ सय ५१ तथा भैसी ३७९ टा प्रभावित भएको जनाएको छ ।
जसमध्ये जिल्लामा एक हजार १५४ गाई गोरु र २६ वटा भैसी मरेको इन्सेक दार्चुलाले जनाएको छ । व्यासँको छाङरुमा सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी नगर्दा अहिले पनि यस क्षेत्रका स्थानीय र सुरक्षार्कीहरु भारतको खाद्यन्नमा भर पर्नु परेको समेत जनाएको छ । गत विगतका वर्ष जस्तै यो वर्ष पनि जिल्लामा ढिलासुस्ती संगै असारे विकास काम सक्ने चटारो चलेको देखिएको छ ।
जिल्लामा चालु आर्थिक वर्षको हाल सम्म ४ जना बालबालिका सहित १० जनाले यार्सागुम्बा संकलनका क्रममा ज्यान गुमाउनु परेको इन्सेक दार्चुलाले आफनो प्रतिवेदनमा उल्लेख गरेको छ । मंगलबार सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी प्रदिप सिह धामीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी तर्कराज पाण्डेय शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्त,महिला मानव अधिकार रक्षक संन्जालका अध्यक्ष गौरी बडाल, कानून व्यवसायी, अधिकारकर्मि लगायत पत्रकारहरुको उपस्थिती रहको थियो ।
