दार्चुला । विगत ५ वर्षदेखी बन्द अवस्थामा रहेको दार्चुलाको चीन संग जोडिएको टिंकरनाका संचालनको माग गर्दै ब्याँस गाउँपालिकाका जनप्रतिनिधि र जिल्ला स्थित राजनितिक दलका नेताहरुले संघीय सरकार संग माग गरेका छन् । आज दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई टिंकरनाका संचालन गर्न संघीय सरकारलाई सिफारिस गरिदिन उनिहरुले एक पत्र बुझाएका छन् ।
ब्याँस गाउँपालिका–१ टिंकर र छाङरुमा बसोबास गर्ने सौका समुदायहरुले परापुर्वकाल देखी चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट मण्डीमा व्यापार व्यवसाय गरी जिविकोपार्जन गर्दै आइरहेको तथा नाका बन्द हुँदा जिविकोपार्जनमा समस्या भएको भन्दै उनिहरुले बेला–बेला नाका संचालनका लागि माग गर्दै आइरहेका छन् । साथै दार्चुला सदरमुकाम खलंगा देखी छाङरु र टिंकर सम्मको घोरेटो बाटो ठाउँ–ठाउँमा भत्केर पैदल मार्ग समेत बन्द भएको तथा भारतको बाटो प्रयोग गर्नु पर्दा भारतको अनुमति लिनु पर्ने बाध्यता रहेको उनिहरुले बताएका छन् ।
छाङरु र टिंकरका स्थानियहरुको जिविकोपार्जनको एकमात्र स्रोत रहेको टिंकरनाका खोल्न संघीय सरकारलाई सिफारिस गरिदिन तथा स्थानियहरुको ताक्लाकोटको गोदाममा रहेको समानको व्यवस्थापन गर्न त्याहा सम्म जान आउन अन्य वैकल्पिक मार्गको प्रयोग गर्न अनुमति पत्र उपलब्ध गराउन उनिहरुले माग गरेका छन् । ब्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी, उपाध्यक्ष बिनोद सिंह कुवर, नेपाली कांग्रेसका नेता ललित सिंह बोहरा, नेकपा एमालेका नेता गेल्बु सिंह बोहरा र जहेन्द्र सिंह ऐतवालले प्रमुख जिल्ला अधिकारीलाई टिंकरनाका संचालनको माग सहितको पत्र बुझाएका हुन् ।
यता दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पुर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले टिंकरनाका चाँडै संचालनमा आउने बताउनु भएको छ । असार २३ गते नेपाली कांग्रेस दार्चुलाको सम्मेलनलाई सम्बोधन गर्न गृह जिल्ला आउनु भएका सदस्य बडूले टिंकरनाका बन्द हुँदा टिंकर र छाङरुमा बसोबास गर्दै आइरहेका सौका समुदायका मानिसहरुको रोजगारी बन्द भएको अवस्थामा सो नाकालाई तत्काल संचालन गर्ने तर्फ सरकारको ध्यानाकर्षण भएको बताउनु भएको थियो ।
सरकारले चीन संगको समन्वयमा अन्य नाकाहरु संचालनमा ल्याइसकेको तथा दार्चुलाको टिंकरनाकालाई पनि संचालनमा ल्याउन दुई देशका बीचमा छलफल र समन्वय भइरहेको सदस्य बडूले बताउनु भएको थियो । अगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण हुने तथा भ्रमणको समयमा टिंकरनाका संचालनका लागि चीन सरकार संग समन्वय र सहकार्य हुने उहाले बताउनुभयो । सुदूरपश्चिमका साथै देशकै समृद्धिसंग जोडिएको टिंकरनाकालाई छिट्टै संचालनमा ल्याउनु अहिलेको आवश्यकता भएको उहाले बताउनु भएको थियो ।
