दार्चुला । केही दिनयता भारतीय टमाटरको मूल्यले आकाश छोएको छ । बजारमा अहिले टमाटरको मूल्य प्रतिकिलो १ सय २० देखि १ सय ३० भारतीय रुपैयाँ पुगेको छ । भारतमा टमाटरको मूल्य महंगो भएपछि नेपाली टमाटरले भने राम्रो बजार पाएको छ । प्रायः भारतीय टमाटर नै प्रयोग हुने दार्चुला बजारमा अहिले नेपाली टमाटर मात्रै प्रयोग भइरहेको पाईएको छ । नेपाली टमाटर अहिले १ सय २० रुपैयाँदेखि १ सय ६० रुपैयाँसम्ममा विक्री वितरण भइरहेको छ । भारतले भने नेपाली टमाटरलाई आयातमा रोक लगाएको छ । भारतमा टमाटरको मूल्य बढी हुँदा नेपाली टमाटरले सहजै बजार पाउने अवस्था हुदाँ आयातमा रोक लगाइएको बुझिएको छ । फुड सेफ्टीको बाहना झिक्दै टमाटर फिर्ता पठाइरहेको कृषकहरुले बताएका छन् ।
अहिले दार्चुला पुलघाटबाट धारचुला बजार जाने टमाटर फिर्ता भइरहेको दार्चुला भन्सार कार्यालयले जनाएको छ । तर, अन्य फलफूल र सागसब्जी भने गइरहेको छ । यस्तै भारतले अहिले चामल (बोरामा) नेपाल निर्यात पनि रोक लगाएको छ । खुल्ला चामल नेपाल आउन दिएपनि प्याकिङ चामलमा रोक रहेको छ । अहिले जिल्लाको नौगाड गाउँपालिका–२ दल्लेख, वडा नम्बर ४ सिप्टी, वडा नम्बर ६ धुलीगडा, वडा नम्बर ५ को सौकेबगर, मालिकार्जुन गाउँपालिका गाउँपालिकाको वडा नम्बर १ भर्तौला, महाकाली नगरपालिकाको वडा नम्बर ९ दत्तु, थाप्लाका कृषकहरुले फलाएका टमाटर बजारमा आएका छन् ।
वर्षाका कारण खलगा–दल्लेख सडक अवरुद्ध हुदाँ नौगाडमा उत्पादित टमाटर बजारसम्म ल्याउन समस्या भएको छ । चार÷पाँच घण्टा पिठ्युमा डोको÷भारी बोकेर सदरमुकाम खलंगा बजारसम्म टमाटर पुर्याएर विक्री गर्ने गरेको नौगाड गाउँपालिका–२ का स्थानीय मदन सिंह सितोलीले बताए । ‘घण्टौ पैदल हिडेर कृषि उत्पादन ल्याउनुपर्ने बाध्यता छ, बर्खाको समय भएकाले जोखिम पनि उत्तिकै छ, उनले भने ।’
