दार्चुला । जिल्लाको नौगाड गाउँपालिकामा स्थानीयहरुले सूचना माग गर्दा सूचना नै पाउन सकेका छैनन् । यहि साउन १० गते स्थानीय बीर बहादुर ठगुन्नाले सूचनाको हक अन्तर्गत गाउँपालिकासँग सूचना माग गर्दा सूचना अधिकारी प्रेमराज जोशीले नै त्यही दिन जिम्मेवारीबाट राजिनामा दिए ।
साथै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर सिंह धामी साउन ११ गते बिहानै प्रदेश राजधानीतिर गएपछि न त जोशीको राजिनामा स्वीकृत भयो न त कुनै अन्यलाई जिम्मेवारी दिइयो ।
यस्तै साउन ११ गते स्थानीय गोबिन्द सिंह ठगुन्नाले केहि विषयमा जानकारी लिनुपर्ने भन्दै नियमानुसार सूचना माग्न जाँदा सूचना अधिकारी प्रेमराज जोशीले मैले जिम्मेवारीबाट राजिनामा दिएको हुँ, मबाट सूचना प्राप्त हुन सकिदैन भन्दै फर्काएको बताए ।
ठगुन्नाले आफूलाई कुनै विषयमा जानकारी लिनुपर्ने भएकाले सूचना प्राप्त गर्न तत्काल सूचना अधिकारी तोक्न पनि माग गर्नुभएको छ । पालिकासँग सूचना माग गर्दा सूचना अधिकारीले नै राजिनामा दिनु, राजिनामा स्वीकृत नगरी कार्यालय प्रमुख बाहिर जानुले थप शंका पैदा गराएको निवेदक ठगुन्नाको आरोप छ ।
