दार्चुला । दार्चुलामा सरकारी टिपर दुर्घटना भएको छ ।
जिल्लाको महाकाली नगरपालिकाको से १ ग ७६ नम्बरको फोहोर फाल्ने टिपर किम्तडी भिरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आइतबार सदरमुकाम खलंगा बजारको फोहर संकलन गरी डम्पिङ्ग साइडमा फाल्न जाने क्रममा महाकाली नगरपालिका–५ किम्तडीभिरमा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक महाकाली नगरपालिका–७ का दानसिंह धामी र महाकाली नगरपालिका–५ का सहचालक मनोज हुम्ली घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टिपरको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घाइते चालक र सहयोगलाई जिल्ला अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।
