दार्चुला । गौरापर्व भदौ ७ कि १८ गते भन्ने व्यापक बहस भइरहेका बेला दार्चुलाको दुहुँ गाउँपालिकामा अगामी भाद्र ७ गते गौरा पर्व मनाइने भएको छ ।
शनिबार गाउँपालिका वडा १ बस्ने रजबार जंग बहादुर बमको अध्यक्षतामा बसेको बैठकले भाद्र ७ गते गौरा पर्व मनाउने निर्णय गरेको हो ।
दुहुँ गाउँपालिकामा एकरुपता ल्याउनका लागि भाद्र ७ गते नै गौरा पर्व मनाउने निर्णय गरिएको ज्योतिष हरिदत्त जोशीले जानकारी दिए।
शनिबार बसेको बैठकले शास्त्रीय मान्यता, परम्परा, अनुसार भदौ ४ गते विरुडा पंन्चमी मनाउने तथा भाद्र ७ गते अठ्यावाली अर्थात दुर्वाष्टमी गौरा पर्व मनाउने निर्णय गरिएको उनले बताए ।
जिल्लामा अब दुई वटा गौरा हुने देखिएको छ । केही दिन पहिले जिल्लाको मालिकार्जुन गाउँपालिकामा बसेको सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा भदौ २१ गते नै मनाउने निर्णय गरेको थियो । उक्त भेलाले १८ गते बिरुडापञ्चमी र भदौ २१ गते अठ्यावाली अर्थात दुर्वाष्टमी मनाउने निष्कर्ष निकालेको थियो ।
