कैलाली। बझाङमा मध्यराति अज्ञात व्यक्तिद्वारा चक्कु प्रहार हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् ।
जिल्लाको सुर्मा गाउँपालिका-३ घर भई चैनपुरस्थित सुर्मा टोलमा बस्ने २७ वर्षीया सुनिता विक र उनका दुई छोरा ७ वर्षीय आदित्य र ४ वर्षीय आबेल घाइते भएका छन्। सुनिताका श्रीमान् कलक बिकले श्रीमती र दुई छोराहरूमाथि सुतिरहेको बेला अज्ञात व्यक्तिले चक्कु प्रहार गरेको बताएका छन् ।
हल काठमाडौँमा रहेका कलकले चक्कु प्रहार गर्ने व्यक्तिले साथमा रहेको मोबाइलसमेत लुटेर लगेको बताएका छन्। उनले दोषीलाई छिटो समातेर कारबाही गर्न प्रहरीलाई आग्रह गरेका छन्। उनले आफ्नो ब्याक्तिगत दुष्मनी कसैसंग नरहेको समेत बताएका छन् ।
घाइते भएका तिनै जनाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
