मनिषा बिष्ट, दार्चुला । दार्चुलाका प्रेमराज बडुले अझै न्याय पाएका छैनन् । जिल्लाको ब्यास गाउँपालिका—५ का प्रेमराज बडु आफ्नो बुबाको मृत्युको कारण खोज्दै सरकारी निकायहरुमा धाउन थालेको करिब १० महिना बितिसक्यो तर अझै पनि न्याय भने पाउन सकेका छैनन् ।
४ बर्ष अगाडी रोजगारीको सिलसिलामा दुवई पुगेका प्रेमका बुवा कृष्णानन्द बडुको बि.सं. २०७९ कार्तिक ६ गत्ते शङ्कास्पद रुपमा मृत्यु भएको थियो । बुवाको मृत्यु भएको १०÷११ महिना बितिसक्दा पनि बुवाको के कारणले मृत्यु भएको र कसरी मृत्यु भयो भन्ने अहिलेसम्म पनि आफुहरुलाई जानकारी नभएको प्रेमराजले बताए ।
उनले भने—“बुवाको मृत्यु भएको १०÷११ महिना बितिसक्यो तर अहिलेसम्म हामीले बुवाको मृत्युको कारण समेत जान्न पाएका छैनौं ,हामीलाई यो मृत्यु नभएर हत्या हो भन्ने शंका लागेको छ” ।
महिनौँ बितिसक्दा पनि सरकारबाट आफुले कुनै किसिमको सहयोग नपाएको प्रेमले बताएका छन । न्यायका लागि स्थानिय सरकर देखि संघीय सरकारसम्म सम्म पुग्दापनी आश्वासन बाहेक केही नपाएको उनले गुनासो गरे ।
उनले भने—“मेरो बुवाको न्यायका लागि स्थानीय सरकार ,जिल्ला प्रशासन देखि प्रदेश प्रमुख र मुख्यमन्त्री हुँदै संघीय सरकारसम्म पुगे तर कसैलेपनि मेरो यो पिडामा मलम लगाउनै चाहेनन,जसले पनि हुन्छ मात्रै भन्ने आश्वासन दिए” ।
प्रेम अहिले प्रदेश राजधानी धनगढीमा छन् । उनको परिवारलाई अहिले दैनिक छाक टार्न पनि धौ धौ परिरहृको छ ।
घरमा कमाउने परिवार धान्ने घरको मेरुदण्ड भाँचिदा अहिले परिवार आर्थिक अभावमा रुमल्लिएको छ । बिहान खायो बेलुका के खाउ भन्ने अवस्था आएको प्रेमले बताए ।
आर्थिक अवस्थाले सबै ठाउँ पुग्नसक्ने अवस्था नहुँदा दार्चुलाबाट ४ बर्ष अगाडी आफ्नो र बहिनीको पढाईका निम्ति धनगढी आएको प्रेमको परिवार अहिले धनगढीको हसनपुरमा भाडामा बस्दै आएका छन् ।
सबै चिज किनेरै जोहो गर्नुपर्ने भएकोले उनको परिवारको अवस्था दिनप्रतिदिन नाजुक हुँदै गईरहेको छ । नेपाली दूतावासले पहलकदमी नचालिदिदा उनको बुवाको कम्पनीमार्फत पाईने क्षतिपूर्ति समेत उनको परिवारले पाएका छैनन ।
दुबई सरकारबाट मेडिकल रिपोर्ट र पुलिस रिपोर्ट समेत नआएको उनले बताए ।
