धनगढी । धनगढी उपमहानगरपालिकाले जथाभावी नदिजन्य पदार्थ उत्खन्न गराएको भन्दै वडा नम्बर १७ का स्थानीयहरु आन्दोलित बनेका छन् ।
मनोमानी ढंगले नदिजन्य पदार्थ उत्खन्न गरिँदा बस्तीमा क्षति पुग्दै आएको भन्दै मंगलबारदेखि आन्दोलित बनेका हुन् ।
धनगढी वडा नम्बर ८ र १७ जोड्ने पुलमा टायर बाल्दै उपमहानगरपालिकासंगको मागहरु सुनाएर आन्दोलनका कार्यहरु अघि बढाएका छन् ।
नदिजन्य पदार्थ उत्खन्न मापदण्ड अनुसार मात्र उत्खन्न गरिनुपर्ने, क्षतिग्रस्त ठाउँलाई रेड यरिया तोकिनुपर्ने, कुनै कुनै ठाउँमा नदिको धार परिवर्तन गरिनुपर्ने, कुल आम्दानीको २० प्रतिशत रकम खोला वा वडाको विकासमा लगानी गर्नुपर्ने, क्षति हुने ठाउँमा उचित तटबन्धनको व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सार्दै आन्दोलनका कार्यक्रम अघि बढाएका हुन् ।
स्थानीय हर्षराज रानाले २०७४ सालदेखि सो नदिमा नदिजन्य पदार्थ उत्खन्न भइरहेको भएपनि वडा विग्रीएका सडकमा ग्राभेल हाल्ने, कटानबाट जोगाउन तटबन्धन लगायतका कुनै पनि कार्य नबढाएको बताए । उनले भने –‘धनगढीले सबैभन्दा बढी नदिजन्य पदार्थ यहि खोलाबाट संकलन गर्छ । त्यसको २० प्रतिशत वडामा लगानी गर्न भन्दा पनि काम भएन् ।’ उनले नगरपालिकाले आफुहरुलाई झुठा आस्वासन बाहेक केही नदिएको गुनासो गरे ।
वडाका वडा अध्यक्ष माधव रानाले खुटिया खोलामा जथाभावी नदिजन्य पदार्थ उत्खन्न हुँदा खेति योग्य जमिन कटान हुने, बनेका भौतिक संरचना ९सडक, झोलुङ्गे पुल लगायत०मा क्षति पुगिरहेको बताए । उनले वडाको बजेट न्यून हुँदा बस्ती संरक्षणका लागि तटबन्धन कार्यक्रम अघि बढाउन नसकिने बताए । उनले भने –‘वडामा थोरै बजेट छ । उपमहानगरपालिकामा अनुरोध गर्दा पनि काम भएन् । प्रदेश र संघ सरकारसंग पनि यसबारे कुरा राखेका छौं ।’
