दार्चुला : सुदुरपश्चिम प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रमेश सिह धामी सहितको टोली दार्चुलाको अपि हिमाल गाउँपालिका पुगेको छ । अपिहिमाल भ्रमण वर्ष २०८०’ र ‘विश्व पर्यटन दिवस २०८०’को अवसरमा पालिकाले पर्यटकीय क्षेत्रको प्रचारप्रसारको लागि आयोजना गरेको भम्रण वर्षको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री धामी सहितको टोली अपि हिमाल गाउँपालिका पुगेको गाउँपालिका अध्यक्ष भक्त सिह ठेकरे बोहराले जानकारी दिनु भएको छ ।
पर्यटन दिवसलाई उद्घाटन गर्न मुख्यमन्त्री कमल बहादुर शाह आउने भएपनि उहाँको कार्य ब्यस्तताले गर्दा आउन नसकेको बताइएको छ । अपि हिमाल गाउँपालिकाले पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न भम्रण वर्ष २०८० लाई भब्यताका साथ मनाउने भएको छ । गाउँपालिकाले सेटेम्बर २७ तारिख अर्थात असोज १० पर्सि अपि बेश क्याम्पमा भम्रण वर्षको उद्घाटन गर्ने जनाएको छ ।
यसका लागि गाउँपालिकाले अहिले तयारी तिब्र बनाएको छ । उद्योग पर्यटन बन तथा वातावरण मन्त्री धामीको टोली आज बेलुका सिती होमस्टेमा बास बस्ने बताइएको छ । मन्त्री धामीको टोलीलाई गाउँपालिकाको वडा २ पाटुको आमा समुहले भब्यरुपमा स्वागत गरेको गाउँपालिका अध्यक्ष ठेकरे बोहराले बताउनु भयो ।
उद्घाटन कार्यक्रममा महाकाली नगरपालिकाका नगर प्रमुख नर सिह चैसिर, मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंह जिल्लास्थित कार्यालय प्रमुख सामाजिक सञ्जाल टिकटक लगायत देउडा गायनमा सक्रिय रहेका बैतडीका जनकराज (जेआर) भट्ट, कलाकार मनोज सिह धामी, राजनितिक दलका प्रतिनिधि समाजसेवी बुद्धिजीवी पत्रकार स्थानीयहरुको टोली अपि हिमाल गाउँपालिकाको सिती पुगेको गाउँपालिकाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार र नाटा सुदूरपश्चिमसँगको सहकार्यमा अपी हिमाल गाउँपालिकाले बेसक्याम्पमा औपचारिक कार्यक्रम गरेर पर्यटन दिवस मनाउन लागेको जनाएको छ । पर्यटन दिवस गाउँपालिकाले वर्षभरी संञ्चालन गर्ने जनाएको छ । गाउँपालिकाले पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले टिकटक प्रतियोगिता समेत सञ्चालन गरेको थियो ।
प्रतियोगितामा बैतडीका जनकराज (जेआर) भट्ट प्रथम भएका छन् । जेआर सामाजिक सञ्जाल टिकटक लगायत देउडा गायनमा समेत सक्रिय रहेका छन । डोटेली भाषामा टिकटक बनाउने गरेका जेआरले पछिल्लो समयमा देउडा गीत समेत निकाल्ने गरेका छन् । सामाजिक सञ्जाल टिकटकमा उनले डोटेली भाषामा बनाएका टिकटक निकै लोकप्रिय छन् । टिकटक प्रतियोगिताको पुरुष्कार समेत १० गते विश्व पर्यटन दिवसकै दिन विरतण गर्ने तयारी रहेको छ ।
भम्रण वर्षले अपी हिमाल गाउँपालिकाभित्र रहेका सुर्मा भवानी मन्दिर लगायत पर्यटकीय स्थल तथा घरवास, वेशभूषा आदिको प्रचारप्रसारमा समेत टेवा पुग्ने विश्वास गरीएको छ । भ्रमण वर्षमा आगन्तुकले अपी हिमाल बेसक्याम्प, नाम्पा हिमाल बेसक्याम्प, कालीढुंगा ताल, भय तालको अवलोकन गर्ने बताइएको छ । सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमालको रूपमा रहेको अपी हिमालको उचाइ सात हजार एक सय ३२ मिटर छ ।
