उमेश दत्त बडु, कैलाली । सुदूरपश्चिम प्रदेशको राजधानी तथा सुदूरपश्चिम प्रदेशकै एउटा मात्र उपमहानगरपालिका रहेको धनगढी मुख्य सडक देखि भित्री सडकहरुसम्म खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको छ ।
कैलाली जिल्लाको सदरमुकाम क्षेत्रकै सडकले विकासलाई गिज्याइरहेको छ । धनगढी चौराहा–क्याम्पसरोडमा खाल्डाखुल्डी भएपनि त्यसको मर्मतका लागि कसैको ध्यान जान नसकेको स्थानीय ब्यापारीहरुले बताएका छन् ।
धनगढी चौराहा देखि बिशालनगर जानेबाटो बिग्रिएको लामो समय भयो । धुलो र हिलोले स्थानीय बासिन्दा हैरान छन् ।
यहाँका बजार क्षेत्र तथा गल्लीहरुमा रहेका सडक सुधारमा धनगढी उपमहानगरपालिका, वडा कार्यालयल तथा अन्य सरोकारवाला निकायहरुले ध्यान नदिँदा समस्या भएको स्थानीयहरुको भनाइ रहेको छ ।
यता, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले वडा नम्बर ३ भित्रका सडक छिट्टै मर्मत गरिने बताए । उनले भने—“भर्खर बर्षात् सकिदै छ अब हामी निरन्तर रुपमा सडक मर्मत कार्य गर्छोँ । गत बर्ष ३० लाखको टेन्डरमा ५० प्रतिशत ग्रभेल गरियो अहिले ग्राभेलको समान सकिएको छ समान मगाएर तुरुन्तै मर्मत कार्यले गति लिनेछ ।”
धनगढी चौराहा देखि रिडरोड जोड्ने सडकको भौतिक पुर्वाधार मन्त्री प्रकाश देउबाले अनुगमन तथा निरीक्षण समेत गरिसकेका छन् । उक्त रोडको डिपिआर तयार गरी टेन्डर खोल्ने तयारीमा रहेको वडाध्यक्ष ऐरले जानकारी दिए ।
धनगढी चौराहा देखि बिशाल नगरसम्मको सडकमा ठाउँठाउँमा खाल्डाखुल्डी भएपनि मर्मतमा कसैको पनि ध्यान जान सकेको छैन् । सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको बिशालनगर बस्ने अटो रिक्सा चालक गंगा केट्टारीले बताए ।
साँघुरो र खाल्डाखुल्डी हुँदा सवारी साधन सञ्चालनमै निकै समस्या भएको बिशालनगरका अटो चालक मोहन बिष्टले बताए । बर्षातको समयमा डुबान हुने, भेल सडकमै बग्ने गरेको र त्यसले गर्दा सडकमा खाल्डाखुल्डी हुने भएपनि व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन् ।
धनगढी चौराह देखि बिशालनगर, कैलाली पुल, एलएन चोक, पुष्पलाल चोक, पुरानो फूलबारी बसपार्क तथा क्याम्पसरोडको बीच सडकमा खाल्डाखुल्डी हुँदा समस्या हुनका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।
धनगढीका भित्री सडकमा खाल्डाखुल्डी हुँदा समेत सम्बन्धित निकायहरु मौन रहेका छन् । सडक मर्मतमा धनगढी उपमहानगरपालिका र सडक डिभिजन कार्यालयको ध्यान जान सकेको छैन् ।


