दार्चुला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाले २०८० सालको दशै, तिहार र छठ पर्वको अवसरमा जनतालाई खाद्यान्नमा विषेश छुट दिने जनाएको छ । कार्यालय एक सूचना जारी गर्दै “पर्वोत्सव सुपथ छुट मुल्य पसल” संचालन गरी याहाँका जनतालाई खाद्यान्न (चामल) मा विषेश छुट दिने जनाएको छ । कार्यालयले यहि असोज २१ गते देखी मंसिर ३ गते सम्म “पर्वोत्सव सुपथ छुट मुल्य पसल” संचालन गर्ने जनाएको छ । चाडवाडका बेला सबैका लागि खाद्यान्नमा छुट गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाका निमित्त शाखा प्रमुख जयकिशुन प्रसाद चौधरीले जानकारी दिनुभयो । कार्यालयले असोज २१ गते देखी अरुवा मोटा चामल, अरुवा मकवानपुर चामल र स्टिम जिरा मसिनो चामलमा साबिकको भन्दा केहि छुट दिने जनाएको छ ।
उपभोक्ताका माग र समस्यालाई मध्यनजर गर्दै कार्यालयले सबै चामलको मुल्यमा प्रतिकिलाग्राम ७ रुपैया छुट दिएर विक्री वितरण गर्ने जनाएको छ । हाल प्रतिकिलोग्राम ५५ रुपैयामा विक्री वितरण भइरहेको अरुवा मोटा चामलमा ७ रुपैया कमगरी छुटपछि ४८ रुपैयामा विक्री वितरण गरिने बताइएको छ । हाल प्रतिकिलोग्राम ५६ रुपैयामा विक्री वितरण भइरहेको अरुवा मकवानपुर चामलको मुल्यमा ७ रुपैया कमगरी ४९ तथा हाल प्रतिकिलोग्राम ९३ रुपैयामा विक्री वितरण भइरहेको स्टिम जिरा मसिनो चामलको मुल्यमा ७ रुपैया कमगरी प्रतिकिलोग्राम ८६ रुपैया कायम गरिने बताइएको छ ।
कार्यालयले हरेक वर्ष दशै, तिहार र छठ जस्ता पर्वहरुमा खाद्यान्नमा छुट दिने व्यवस्था गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलामा हाल २१८ क्विन्टल मोटा चामल, १७६ दशमलव २५ क्विन्टल स्टिम जिरा मसिना चामल र ३६ दशमलव ८१ क्विन्टल मकवानपुर चामल गरी ४३१ दशमलव ०६ क्विन्टल चामल मौज्दात रहेको शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो ।
