कञ्चनपुर । इजरायलको किबुजस्थित कृषि फार्ममा रहेका १७ जनाको समूहमध्ये बंकरमा सुरुमै हमासको आक्रमणमा परेका कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशी एक सातादेखि बेपत्ता छन ।
पहिलो आक्रमणमा घाइते अवस्थाका चारमध्ये एकजना स्वदेश फर्केका छन् भने तीनजना इजरायलमै उपचाररत छन । शुक्रबार स्वदेश फर्केका विद्यार्थी तथा त्यहीँ उपचाररत विद्यार्थीले जोशीलाई थाई नागरिकहरूसँगै हमास समूहले कब्जामा लिएको बताएका छन । नेपाली दूतावासले जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ ।
अघिल्लो शनिबार बिहान हमास समूहले गरेको ग्रिनेड आक्रमणमा चारजना नेपाली विद्यार्थी घाइते भएका थिए । सल्यानका विधान सेजवाल, दाङका रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका थिए । हमास समूहले दुईवटा ग्रिनेड फालेकोमा एउटा जोशीले समाएर बाहिर फालेका थिए । अर्को भने पड्केको थियो ।
जोशीले ग्रिनेड बंकरबाहिर फालेका कारण चारजना नेपालीहरूको ज्यान बचेको त्यहाँबाट फर्केका विद्यार्थीहरूले बताएका छन । हमासको गोली लागेर गम्भीर घाइते भएका हिमाञ्चल कट्टेलले अस्पतालबाटै जारी गरेको भिडियो सन्देशमा जोशीलाई प्यालेस्टाइनतर्फ लिएर गएको आफैँले देखेको बताएका छन । उस (बिपिन जोशी) लाई दुई तीनजना थाईसँग होस्टेज बनाएर प्यालेस्टाइनतर्फ लिएर गएको मैले देखेको छु,’ कट्टेलले भनेका छन ।
त्यही समूहमा रहेका सल्यानको त्रिवेणी गाउँपालिका– १ का प्रमोद केसी र कैलालीको भजनी त्रिशक्ति नगरपाकिा– ३ वीरेन्द्र चौधरीसहित २५३ जनाको विद्यार्थी टोली शुक्रबार स्वदेश फर्केर शनिबारसम्म गाउँ पुगिसकेको छ ।
अर्थ मन्त्रालयमा कार्यरत चुरामणि अर्यालले प्यालेस्टाइन सरकारमा कार्यरत साथीसँग व्यक्तिगत तवरमा भएको सम्पर्कका आधारमा जोशीबारे चासो राखेको बताए ।
‘मेरो व्यक्तिगत चिनजानका साथी प्यालेस्टाइन सरकारका कर्मचारी हुनुहुन्छ । मैले उहाँलाई सम्पर्क गरेर विपिन जोशीबारे चासो राखेको थिएँ,’ अर्यालले भने, ‘उहाँले नेपाली रहेको वा नरहेको केही पनि भन्नुभएन । तर, हमास समूहको नियन्त्रणमा रहेका एसियाली नागरिकलाई सुक्षित रूपमा इजरायलतर्फ फर्काउने तयारी गरेको जानकारी उहाँले दिनुभएको छ । यदि नेपाली त्यो समूहमा छन् भने उनी सुरक्षित छन्, सुरक्षित रूपमा इजरायल फर्काउने तयारी छ भन्नुभएको छ ।’
“यस अघि सम्प्रेशण भएको समाचारमा बिपिन सम्पर्कमा आए भन्ने समाचार त्रुटिपुर्ण भएकोले पाठक वर्गहरुमा पर्न गएरको असर प्रति सिद्धटोपी खबर क्षमाप्रार्थी छौ ”।
