कैलाली। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले मानव अधिकार सहायता कक्ष प्रभावकारिता बनाउन आग्रह गरेको छ । धनगढीमा बिहीबार भएको छलफल कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।
मानव अधिकार सहायता कक्ष प्रभावकारी रूपमा अघि बढाउन सबै मानव अधिकार रक्षकहरूको साथ र सहयोगको आवश्यकता रहेको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताए । इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत ९ महिनाको अवधिमा १५ जना विभिन्न हिंसा पीडितलाई सहयोग गरेकाले उनले बताए ।
उनले राज्य पक्षबाट मानव अधिकार उलङ्घनका घटनामा केही सुधार भए पनि महिला हिंसाका घटनामा कमी आउन नसकेको बताए ।
विभिन्न हिंसामा परेका गरिब विपन्न वर्गका पीडितलाई यस सहायता कक्षमार्फत सहयोग गर्दै आइरहेको र पीडित सहयोग अनुमोदन गर्नु पर्ने उनले बताए ।
मानव अधिकार सहायता कक्षका अध्यक्ष देवी खनालले मानव अधिकारसँग सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय, प्रहरी, ट्राफिक प्रहरीहरूसँग संयुक्त छलफल गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सवाल उठान गर्नु पर्ने बताए ।
फियान नेपालका प्रमुख मुकुन्द बहादुर रानाले नागरिक समाजले एक जुट भएर वातावरणीय संरक्षण र मानव अधिकारको संरक्षणका लागि मानव जीवनमा प्रत्यक्ष असर पार्ने गरी सञ्चालनमा आएका उद्योगहरूको अध्ययन गरी पीआइएल गर्न सकिने बताए ।
पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष अर्जुन शाहले उपभोक्ता हित संरक्षणका चाडपर्व लक्षित नभई नियमित रूपमा कालो बजारी र खाद्य गुणस्तरको अनुगमन गर्नु पर्ने बताए ।
