दार्चुला । जिल्लाको व्यासँ गाउँपालिका वडा १ छाङरुको तल्लो कौवामा आगलागी भएको छ । बुधबार आज दिउसो गाउँपालिकाको वडा नम्बर १ छाङरुको तल्लो कौवामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
छाङरुका स्थानीयहरुले आगलागी भएको घटना सितापुल प्रहरी चौकीलाई दिएपछि अहिले सितापुलबाट प्रहरीको टोली आगलागी भएको ठाउँमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
डिएसपी सिंहका अनुसार सितापुल प्रहरी चौकीबाट छाङरुको जंगलमा पुग्न डेढ घण्टासमय लाग्ने भएकाले बाकी विबरण आउन नसकेको बताए ।
आगलागी नियन्त्रणका लागि सितापुल प्रहरी चौकीबाट असई प्रकाश बहादुर सिंहको टोली आगलागी भएको क्षेत्रमा खटिएको छ ।यस्तै आगलागी भएपछि छाङरुस्थित सशस्त्र प्रहरी बलको ५१ नम्बर गुल्मबाट इन्सपेक्टर खगेन्द्र ओझाको टोली समेत आगो नियन्त्रणका लागि खटिएको छ । आगलागी कसरी भयो भन्ने बारे खुल्न सकेको छैन ।
हिमपात र अत्यधिक चिसोका कारण व्यासका स्थानीय वासिन्दा सदरमुकाम झरिरहेका छन । स्थानीय वासिन्दा बेसी सदरमुकाम खलंगा आइरहेका बेला भएको आगलागी कसले र किन गरयो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । गत वर्षको पुष १४ गते पनि त्रिदेशीय सीमाक्षेत्र व्यासको छाङरु गाउँ नजिकै कौवा क्षेत्रमा आगलागी भएको थियो ।
