बैतडी । बैतडीको पाटन नगरपालिका र कोरियन संस्थाहरुबीच आपसी समजदारी कायम भएको छ । डोङबाङ डिएस सिस्टम प्रा.लि.बीच कामदार साटासाटको लागि आपसी समजदारी भएको छ, भने शैक्षिक कार्यक्रमका लागि को.सा.कम्पनी लिमिटेडबीच सम्झौता भएको हो । पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराले यस महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार पाटन नगरपालिकाका कक्षा १२ उर्तीण विद्यार्थीहरुले कोरियामा गएर त्यहाको विश्वविद्यालयमा अध्यायन गर्न सक्ने छन् ।
कोरियन भाषा शिक्षा र कोरियामा अध्ययन गर्नका लागि पाटन नगरपालिकाका विद्यार्थीहरूलाई सहयोग पु¥याउनको लागि सम्झौतता गरिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ । पाटन नगरपालिकाका विद्यार्थीहरूको कोरियाली भाषा सीप सुधार गर्न र कोरियामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई सहयोग पुर्याउने उदेश्यका साथ सम्झौता गरिएको हो ।
को.सा.कम्पनी लिमिटेड र पाटन नगरपालिकाका विद्यार्थीहरूबीच असल विश्वासको सिद्धान्तमा आधारित सहकारी सम्बन्ध स्थापना गरी उनीहरूको कोरियाली भाषा स्केल सुधार गर्न र कोरियामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई सहयोग प्रदान गर्ने मुख्य उदेश्य रहेको छ ।
मौसमी कामदार आदानप्रदानका लागि समजदारी पनि बनेको छ । मौसमीरुपमा काम गर्ने कामदारहरुले कोरियाको कृषि क्षेत्रमा काम गर्ने अवसर प्रदान गर्ने कार्यक्रम रहेको सम्झौता पत्रमा उल्लेख गरिएको छ । अन्तराष्ट्रिय मापदण्ड र सुरक्षाको प्रत्याभूतिसहित कामको अवसर प्रदान गरिने संस्थाबीच सम्झौता गरिएको नगर उपप्रमुख बोहराले जानकारी दिए ।
सम्झौतामा उल्लेख भएअनुसार यो कार्यक्रम एक वर्षसम्म लागु हुने बताइएको छ ।
