दार्चुला । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्ममा १ करोड भन्दा बढि राजस्व संकलन गरेको छ ।

शुक्रबार जिल्लास्थित पत्रकारहरुसंगको अन्तरक्रियात्मक कार्यक्रममा वरिष्ठ संरक्षण अधिकृत गोपाल बहादुर घिमिरेले चालु आर्थिक वर्षको हाल सम्म १ करोड भन्दा बढि राजस्व संकलन भएको बताए ।

कार्यालयले विभिन्न शिर्षकहरुबाट उक्त राजस्व रकम संकलन गरेको हो ।  जसमध्ये बनक्षेत्रको रोयल्टी पर्यटन शुल्क, बेरुजु रअन्य प्रशासनिक सेवा शुल्कबाट कार्यालयले दोस्रो त्रैमासिक सम्ममा १ करोड ८१ लाख ४६ हजार ९७४ रुपैयाँ ३७ पैसाँ राजस्व संकलन गरेको छ ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले बनक्षेत्रको रोयल्टीबाट मात्रै सबै भन्दा बढि १ करोड ८०लाख ८६ हजार ४८५ रुपैयाँ राजस्व संकलन गरेको छ ।
यस्तै पर्यटन शुल्क बाफत १२ हजार ४८९ रुपैयाँ ३७ पैसा, बेरुजुबाट ३३ हजार तथा अन्यप्रशासनिक सेवा शुल्कबाट १५ हजार गरी चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्ममा१ करोड ८१ लाख ४६ हजार ९७४ रुपैयाँ ३७ पैसाँ राजस्व संकलन गरिएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।

आर्थिक वर्षको हालसम्म ८ जना पर्यटकले जिल्लाको भम्रणगरी फर्किएको कार्यालयको तथ्यांकमा छ । जसमध्ये ६ जना पुरुष तथा २ जना महिला पर्यटकहरु दार्चुला आएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।

८ जना मध्ये १ जना नेपाली र अन्य ७ जना सार्कराष्ट्रभन्दा बाहिरका नागरीकहरुले अपिनाम्पा संरक्षण क्षेत्रको अवलोकन भम्रणगरी फर्किएको बताइएको छ ।

पर्यटकीय सम्भावना अत्यधिक भए पनि अपिनाम्पा संरक्षण क्षेत्र पर्यटकीय गन्तव्य बन्न सकेको छैन । जैविक विविधता भएको अपिनाम्पामा प्रचारप्रसार अभावका कारण पर्यटक भित्र्याउन नसकिएको कार्यालयले जनाएको छ । संरक्षण क्षेत्रभित्र अपि हिमाल, नाम्पा हिमाल, व्याँस हिमाललगायत थुपै्र हिमशृङ्खला रहेका छन् ।

अपिनाम्पा संरक्षण क्षेत्र सात हजार १३२ मिटर उचाइसम्म फैलिएको छ ।  अध्ययनअनुसार अपिनाम्पाभित्र ३० भन्दा बढी प्रजातिका स्तनधारी, २०० भन्दा बढी प्रजातिका चरा तथा ५०० भन्दा बढी प्रजातिका वनस्पति पाइन्छन् । संरक्षण क्षेत्रभित्र हिउँ चितुवा, ध्वाँसे चितुवा, कस्तुरी मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, चितुवा, बाँदर, हिमाली भालु, स्याल, दुम्सी, ब्वाँसो, लङ्गुर, थारलगायत वन्यजन्तु रहेका छन् ।
वन्यजन्तुबाट भएका ६४ वटा क्षतिका घटनाहरु दर्ता भएका छन ।

अपि नाम्पा संरक्षण क्षेत्रमा पर्ने ठाउँहरुबाट हालसम्म ६४ वटा वन्यजन्तुबाट भएका क्षेतिको बारेमा घटनाहरु प्राप्त भएको कार्यालयले जनाएको छ ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्म वन्यजन्तुबाट मात्रै ६४ वटा क्षतिका घटनाहरु दर्ता भएको प्रमुख संरक्षण अधिकृत गोपाल बहादुर घिमिरले जानकारी दिए ।
पशुधनको ४० र अन्नबाली क्षतिमा २४ वटा घटनाहरु कार्यालयकहाँ पुगेको जनाएको छ । कार्यालयले पशुधनको क्षतिबाफत किसानहरुलाई ४ लाख तथा अन्नबाली क्षतितर्फ १ लाख २६ हजार ५०४ गरी जम्मा ५ लाख २६ हजार ५०४ रुपैयाँ पिडित पक्षलाई वितरण गरिएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको हालसम्म वन्यजन्तुबाट मानवीय क्षेतिभने नभएको बताइएका छ । कार्यालयका अनुसार हाल सम्म वनपैदावार निकासी तर्फ सबै भन्दा बढि वनलसुन २ हजार ३०४.३ किलोग्राम निकासी भएको छ भने यार्सागुम्बा ५७०.६५किलोग्राम निकासी भएको जनाएको छ । यस्तै गुचिच्याउ २५ ग्राममात्रै निकासी भएको छ । कार्यालयले हाल सम्म वितीय प्रगति ३०.३८ प्रतिशत तथा भौतिक प्रगति ३२.८२ प्रतिशत पुगेको जनाएको छ ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलामा स्थापना कालदेखि हाल सम्म दरबन्दी अनुसारको कर्मचारी अभाव रहेको छ । विःस २०६७ साल असाढ २८गते स्थापना भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयमा हाल सम्म कर्मचारी पदपुर्ति नहुदाँ कार्यसम्पादन लगायत सेवा प्रबाहमा समस्या भएको कार्यालयले जनाएको छ । संरक्षण क्षेत्रमा स्विकृत दरबन्दी संख्या ६७ जनाको भएपनि हाल कार्यालयमा जम्मा ४४ जना मात्रै कार्यरत रहेको पाइएको छ ।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत गोपाल बहादुर घिमिरेका अनुसार प्रमुख संरक्षण अधिकृत १ जना, सहायक संरक्षण अधिकृत २ जना नायब सुब्बा १ जना लेखापाल १ जना, रेज्जर ७ जना सिनियर गेमस्काउट १२ जना खरिदार ५ जना,गेमस्काउट ३६ जना हलुका सवारी चालक १ जना तथा कार्यालय सहयोगि १ जना गरी जम्मा ६७ जनाको दरबन्दी भएपनि हाल ४४ जनामात्रै कार्यरत रहेको बताए ।

कार्यालयमा हालको जनशक्ती प्रमुख संरक्षण अधिकृत १ जना, सहायक संरक्षण अधिकृत १ नायब सुब्बा १ जना,लेखापाल १ जना रेज्जर ७ जना सिनियर गेमस्काउट ९ जना खरिदार ५ जना,गेमस्काउट १७ जना हलुका सवारी चालक १ जना तथा कार्यालय सहयोगि १ जना गरी जम्मा ४४ जनामात्रै कार्यरत रहेका छ्न । मुख्य रूपमा गेम स्काउटको दरबन्दी अनुसार जनशक्ति नहुँदा अपिनाम्पा संरक्षण क्षेत्रमा समस्या भएको कार्यालयले जनाएको छ ।

यो जनशक्ति भर्ना भएपछि छोटो समयमा आन्तरिक प्रतिस्पर्धाबाट बढुवा भएर जाने र थप जनशक्तिका लागि समय लाग्ने हुँदा समस्या आएको प्रमुख संरक्षण अधिकृत घिमिरेले बताए । गेम स्काउट पदमा रहेकाले खरिदारमा आन्तरिक प्रतिस्पर्धाबाट जानसक्ने भएकाले धेरै त्यस तर्फ जाँदा दरबन्दी रिक्त हुने र लोकसेवा आयोगले पदपूर्ति गर्न समय लाग्ने गरेको संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय