दार्चुला । सामाजिक विकास कार्यालय दार्चुलाले महिलाहरुका लागि लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षा संञ्चालनमा ल्याएको छ । सोमबार आज बाट जिल्लाको महाकाली नगरपालिका वडा ४ खलंगा सदरमुकाम क्षेत्रमा रहेका दुई वटा विद्यालयहरुमा आयोगका तयारी कक्षाहरु संञ्चालनमा ल्याएको कार्यालयले जनाएको छ ।महिलाहरुका लागि लोकसेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालनमा ल्याएको कार्यालय प्रमुख रामचन्द्र ओझाले जानकारी दिनु भएको छ । महिलाहरुको सरकारी सेवामा पहुँच पुर्याउने उद्देश्यसहित निशुल्क तयारी कक्षा सञ्चालन गरिएको उहाँले बताउनु भयो ।
कार्यालय प्रमुख ओझाका अनुसार लोकसेवामा १५० जना तथा शिक्षक सेवा आयोगका कक्षाहरुमा १०४ जनाले भाग लिएको बताउनु भयो ।जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना मावि र दार्चुला बहुमुखी क्याम्पसबाट कक्षाहरु संञ्चालनमा रहेको बताइएको छ । कक्षाहरु एक महिना सम्म संञ्चालन हुने बताइएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयबाट कार्यालयलाई ५ लाख रुपैयाँ बजेट विनीयोजन गरेको छ ।
कार्यालयको चालू आर्थिक वर्ष २०८०÷०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षा संचालन गरिएको कार्यालय प्रमुख रामचन्द्र ओझाले बताउनु भयो । महिला सशक्तीकरण कार्यक्रम अन्तरर्गत तयारी कक्षाहरु संञ्चालनमा रहेको कार्यालयले जनाएको छ । गत वर्ष १२६ जनाले लोकसेवा आयोगका कक्षाहरु लिएका थिए भने ५८ जनाले शिक्षक सेवा आयोगका कक्षाहरु लिएको कार्यालयले जनाएको छ ।
जिल्लामा संञ्चालन भएका कक्षाहरु दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी,साहयक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउद मालिकार्जुन गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर ठगुन्ना,लगायत अधिकृतस्तरका विज्ञव्यतिहरुबाट कक्षा संञ्चालनमा रहेको सामाजिक विकास कार्यालयले जनाएको छ ।
