दार्चुला, असार ९ – चीनको ताक्लाकोटसँग जोडिएको दार्चुलाको तिङ्कर भन्ज्याङ नाका खुला गरिएको छ। व्यास गाउँपालिका–१ अन्तर्गत पर्ने छाङरु र तिङ्कर गाउँका सौका समुदायका स्थानीयलाई चिनियाँ पक्षले विगतको चलनअनुसार ताक्लाकोट प्रवेश गर्न अनुमति दिएपछि नाका सञ्चालनमा आएको हो।

गत कात्तिक अन्तिम साता बन्द भएको नाका सोमबारदेखि पुनः खुलेको व्यास गाउँपालिका–१ छाङरुका स्थानीय व्यापारी तथा नेपाल–चीन हिमालय मैत्री सङ्घका केन्द्रीय सदस्य योगेश बोहोराले जानकारी दिए। नाका खुलेसँगै ६३ जना स्थानीय व्यापारी व्यापारका लागि ताक्लाकोट पुगेका छन्।

सदियौँदेखि छाङरु र तिङ्करका सौका समुदायका मानिसहरू चीनको स्वशासित तिब्बती क्षेत्रस्थित ताक्लाकोट बजारमा व्यापार गर्दै आएका छन्। कोभिड–१९ महामारीका कारण लामो समय बन्द रहेको नाका पछिल्ला वर्षहरूमा स्थानीय आवश्यकताअनुसार खुल्दै आएको छ।

बोहोराका अनुसार स्थानीय व्यापारीहरूले ताक्लाकोटमा केही महिना खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्रीको व्यापार गरी जीविकोपार्जन गर्ने गरेका छन्। हाल ताक्लाकोटमा दार्चुलाका व्यापारीहरूले ३२ वटा पसल र ४ वटा होटल सञ्चालन गरिरहेका छन्।

तिङ्कर नाका आधिकारिक सीमा नाका नभए पनि विगतदेखि नै स्थानीय तहको समन्वयमा छाङरु र तिङ्करका बासिन्दाले यसै मार्गबाट आवतजावत गर्दै आएका छन्। यस वर्ष पनि ताक्लाकोटस्थित स्थानीय सरकार तथा विदेश विभागका प्रतिनिधिसँगको समन्वयपछि नाका खुलाइएको जनाइएको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनील पौडेलले नाका खुलेको जानकारी स्थानीयवासीबाट प्राप्त भएको बताउँदै सम्बन्धित मन्त्रालयमा जानकारी पठाइने बताए। उनका अनुसार विगतदेखि ताक्लाकोटमा व्यापार गर्दै आएका स्थानीयसँगको समन्वयमै नाका सञ्चालनमा आएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार यस वर्ष ताक्लाकोट जानका लागि व्यास गाउँपालिकाका २१२ जनाले तिब्बत प्रवेश अनुमतिपत्र लिएका छन्। तीमध्ये १५२ जनाले अनुमतिपत्र नवीकरण गराएका छन् भने ६० जनाले नयाँ अनुमतिपत्र प्राप्त गरेका छन्।

चीनले तिङ्कर भन्ज्याङको १ नम्बर सीमास्तम्भबाट करिब आधा घण्टाको दूरीमा पर्ने सापु क्षेत्रमा सुरक्षाकर्मी बस्ने संरचना निर्माण गरी कच्ची सडकसमेत विस्तार गरेको छ। चीनतर्फ सापुमा सुरक्षा चेकपोस्ट रहेको छ भने नेपालतर्फ व्यास गाउँपालिका–१ को छियालेकमा सशस्त्र प्रहरी बलको बीओपी र नेपाल प्रहरीको चौकी सञ्चालनमा छन्।

कोभिड–१९ महामारीपछि लामो समय बन्द रहेको ताक्लाकोट नाका आर्थिक वर्ष २०८०/८१ देखि व्यापारीहरूको आवतजावतका लागि मात्र खुल्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय