दार्चुला । जिल्लाको व्याँस गाउँपालिका–४ सुन्सेराको डोकटमा बिहीवार सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) भवन शिलान्यास गरिएको छ ।
१ करोड ५९ लाखमा ठेक्का सम्झौता भएको बीओपी भवनको सरस्वती रिठगडे जेभीले निर्माण गर्ने बताइएको छ ।
सशस्त्र प्रहरी बल बैजनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश कुमार पाण्डे, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हर्क राज पन्त, व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवर, गुरुगोरख गुल्म दार्चुलाका गुल्मपति बुद्ध देवकोटा, व्याँस गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष झुन सिंह विष्टको उपस्थितिमा भवन शिलान्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरीक्षक लिली बहादुर चन्दले बताए ।
यसैबीच सशस्त्र प्रहरीलाई बीओपी भवन स्थापनाका लागि जग्गा उपलब्ध गराउने जग्गाधनी झुन सिंह विष्टलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । व्याँस गाउँपालिका–४ सुन्सेरामा घर भाडामा लिई २०८० वैशाख २५ गते बीओपी स्थापना गरिएको थियो ।
