धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग जापानका संस्थापक प्रमुख तथा समाजसेवी दिलेन्द्र प्रसाद जोशीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ।

रास्वपाले विदेशमा रहेका नेपालीहरूलाई राष्ट्र निर्माणको अभियानसँग जोड्ने उद्देश्यले प्रवास नेपाली सम्पर्क विभाग गठन गर्ने अवधारणा अघि सारेको थियो। सोही अभियानअन्तर्गत जापानमा पहिलो प्रवास संगठन स्थापना भएको थियो, जसको नेतृत्व जोशीले गर्नुभएको थियो।

पार्टी स्थापनाको प्रारम्भिक चरणमै संगठन निर्माणको चुनौतीपूर्ण अवस्थाबीच पनि जोशीले जापानमा आफ्नो पेशागत जिम्मेवारीसँगै संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्नुभएको बताइन्छ। उहाँले जापानका विभिन्न क्षेत्रमा पुगेर संगठन विस्तार गर्नुका साथै रास्वपाको विचार, नीति र उद्देश्य प्रवासी नेपाली समुदायमाझ पुर्‍याउन महत्वपूर्ण योगदान दिनुभएको उल्लेख गरिएको छ।

जापानबाट सुरु भएको प्रवास नेपाली सम्पर्क विभागको अभियान हाल विश्वका ५० भन्दा बढी देशमा विस्तार भइसकेको छ। ती संगठनहरूको स्थापना, समन्वय तथा सुदृढीकरणमा समेत जोशीको उल्लेखनीय भूमिका रहेको बताइएको छ।

यसैबीच, पार्टी सभापतिविरुद्ध विभिन्न समयमा राजनीतिक प्रतिशोधका रूपमा मुद्दा दर्ता गरिएको भन्दै जापानस्थित नेपाली समुदायले हस्ताक्षर संकलन, नेपाली राजदूतावासमार्फत ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रम सञ्चालन गरेका थिए। ती अभियानको नेतृत्व तथा समन्वयमा पनि जोशी सक्रिय रहनुभएको सहभागीहरूको भनाइ छ।

केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्दै जोशीले प्रवासमा रहेका नेपालीहरूको अनुभव, क्षमता र योगदानलाई पार्टीको केन्द्रीय नेतृत्वसँग प्रभावकारी रूपमा जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँका समर्थकहरूले प्रवास संगठन निर्माणमा पुर्‍याएको योगदान, नेतृत्व क्षमता र लामो समयदेखिको सक्रिय भूमिकाका आधारमा जोशी केन्द्रीय सदस्य पदका लागि सक्षम उम्मेदवार रहेको दाबी गरेका छन्। साथै, महाधिवेशनका मताधिकार प्राप्त प्रतिनिधिहरूले योग्य, अनुभवी र पार्टीप्रति समर्पित नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय