दार्चुला । जिल्लाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाइ  सुतिरहेको बेला अज्ञात समूहले आक्रमण गरेको छ ।

प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको अवस्थामा बिहिवार राति अज्ञात समूहले ढुंगामुढा र आगजनी गरेको प्रहरीले जनाएको छ ।

अधिकारी सुतिरहेको सरकारी आवासमा राति अन्दाजी १/२ बजेको समयमा ढुंगा प्रहार गरेको र आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी गोविन्द भण्डारीले जानकारी दिए ।

अधिकृत  अधिकारी सुतिरहेको अवस्थामा झ्यालबाट ढुंगामुढा भएर आगजनी गरेको विवरण प्रहरीलाई प्राप्त भएको भण्डारीले बताए ।

प्रमुख प्रशासकीय अधिकृतको आवास र इलाका प्रहरी कार्यालय आसपासमा हुँदा पनि कसले त्यस्तो गरेको हो भन्ने खुलेको छैन ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारी झ्यालबाट हाम फालेर प्रहरीकोमा पुगेको प्रहरीले जनाएको छ ।

अधिकृत अधिकारी प्रहरी  कहाँ पुगेपछि मात्रै प्रहरीलाई जानकारी भएको र  प्रहरीले पछि आगो नियन्त्रणमा लिएको बुझिएको छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट  प्रहरी टोली मार्मा गइरहेको बताइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मार्मा गाउँपालिकामा सञ्चालमा रहेका अवैध क्रसर रोक्न र सार्वजनिक स्थानमा मदिरा बिक्री रोक्न सूचना केही समय अगाडि जारी गरेका थिए ।

गाउँपालिकामा राजश्व नतिरी सञ्चालनमा रहेका दुईवटा क्रसरलाई राजश्वको दायराभित्र आउन पत्र काट्दा पनि नमानेपछि बन्द गर्न सूचना जारी गरिएको थियो । त्यस्तै, सार्वजनिक स्थानमा मदिरा बिक्रीवितरण रोक्न पनि सूचना जारी भएकै राति प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको हो ।

अवैध क्रसर सञ्चालनमा रोक लगाउन र सार्वजनिक स्थानमा मदिरा बिक्री रोक्नका लागि सूचना जारी भएकै राति यस्तो घटना भएको बुझिएको छ ।

गाउँपालिका अध्यक्ष जमनसिंह धामी काठमाडौंमा रहेको बेला यस्तो घटना घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय