दार्चुला कात्तिक २३ । जिल्लामा मूल गणनाका लागी गणकहरु फिल्डमा खटिएको जनाएको छ । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत यहि कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म मूल गणना हुने भएकोले दुई दिनको बाटो म्याद दिएर उनिहरुलाई आजैबाट फिल्डमा खटाइएको जनगणना कार्यालय दार्चुलाका सुचना अधिकारी जनक सिह वोहराले जानकारी दिए ।
१ सय ८३ जना गणकलाई तालिम दिएर आवश्यक सामग्रीसहित कार्यक्षेत्रमा पठाईएको वोहराको भनाई छ । महाकाली नगरपालिकामा सबै भन्दा बढि ३८ जना गणक छनोट भएका छन् भने अपि हिमाल गाउँपालिकामा सवैभन्दा कम ९ जना गणक छनोट भएको कार्यालयले जानाएको छ ।
यस्तै शैल्यशिखर नगरपालिकामा ३१ जना, व्यास गाउँपालिका र दुहुँ गाउँपालिकामा समान १३÷१३ जना, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका र नौगाड गाउँपालिकामा पनि समान २०÷२० जना र मार्मा गाउँपालिकामा १९ जना गरी जिल्लाभरीबाट १ सय ८३ जनाको नाम सार्वजनिक गरिएको जिल्ला जनगणना कार्यालय दार्चुलाले जनाएको छ । गणकले प्रश्नावलीसहित घरघरमै गएर परिवारमूलीबाट सूचना सङ्कलन गर्ने बताइएको छ।
सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि गणकहरु प्रत्येक घर घरमा पुग्ने जनाइएको छ । यस पटक घर तथा घरपरिवार लगत सूचीकरणका लागि सामुदायिक प्रश्नावली सहित ३७ वटा प्रश्न समावेश गरिएको सुचना अधिकारी बोहराले बताए ।
जिल्लामा यस अघि घर तथा घरपरिवार लगत सूचीकरण कार्य गरिसकिएको छ । एक गणकले करिब एक सय पचास घरसम्म पुग्नुपर्ने दायित्व दिइएको जनगणना कार्यालयले जनाएको छ । नयाँ संविधानपछिको पहिलो जनगणना हुन लागेको हो । यो जनगणनाले दिगो विकास लक्ष्य, समृद्धि र सुशासनका आधारका लागि खण्डीकृत तथ्याङ्क तयार गर्नेछ । विभागले मुख्य प्रश्नावलीमा आर्थिक काम, पेसा, वस्तु वा सेवाको उत्पादन अनुसारको विवरण, परिवारमा खानेपानी, इन्धन, सञ्चारसाधम, महिलाका नाममा सम्पति, घरेलु व्यवसाय, मातृमुत्यु दरको आकलन, विदेशमा रहेका व्यक्ति आदिबारे सोध्ने गरी प्रबन्ध गरेको छ ।
जनगणना सकिएको तीन महिनामा प्रारम्भिक नतिजा आउने जनाइएको छ । दार्चुलामा २०६८ को जनगणना अनुसार १ लाख ३३ हजार २ सय ३४ जनसंख्या रहेको छ, भने २४ हजार घरपरिवार संख्या रहेका छन् । नेपालमा हरेक १०÷१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ । देशमा पहिलो जनगणना एक सय ९ वर्षअघि विसं १९६८ मा चन्द्रशम्शेर राणा प्रधानमन्त्री भएका बेला थालनी भएको थियो ।