
“एक दिन एउटी महिला रोइरहेकी थिइन्, अनि कसैले सोध्यो ‘किन रुन्छौ?’ महिलाले भनिन् ‘उ रिसाउँछ, झगडा गर्छ, कहिलेकाहीँ बोल्दैन पनि… तर फेरि पनि म उसैलाई माया गर्छु।’ त्यो सुनेर प्रश्न गर्ने मानिस अलमल्ल पर्यो – अनि बुझ्यो, साँचो माया बुझ्नको लागि त अनुभव गर्न सक्नुपर्छ।”
हामी सबै कहिल्यै न कहिल्यै यस्तो सम्बन्धबाट गुज्रिन्छौं जहाँ माया हुन्छ, तर शान्ति सधैं हुँदैन। जहाँ मुस्कान हुन्छ, तर कहिले काँही आँशु पनि। जहाँ सँगै बस्न खोजिन्छ, तर बीचमा झगडा, गुनासो र मौनताको पर्खाल आउँछ। तर साँचो माया त्यही हो, जसले तिनै पर्खालहरू भत्काएर फेरि पनि हात समाउने आँट गर्छ।
माया भन्नु एउटा यस्तो सम्बन्ध हो, जुन सधैँ सरल हुँदैन, तर सधैँ विशेष हुन्छ। जहाँ झगडा हुन्छ, मनमुटाव हुन्छ, तर ती सबै उल्झनहरू सुल्झाउँदै फेरि सँगै हिँड्न सकिने बाटो पनि यही मायाले देखाउँछ। साँचो प्रेमको परीक्षा त्यो होइन कि कहिल्यै झगडा नहोस् बरु त्यो हो कि झगडा हुँदा पनि एकअर्काको हात छोड्न मन नलागोस्।
जीवनका हरेक सम्बन्धहरूमा कहिले काहीं विचार नमिल्न सक्छ, शब्दहरूले चिसो ल्याउन सक्छन्, र मन गहिरो घाउले थिचिन सक्छ। तर साँचो माया त्यही हो, जसले तिनै चोटहरूमा मल्हम लगाउने साहस दिन्छ।
हामी झगडा गर्छौं, किनभने हामीलाई एक अर्काको व्यवहार र बोलीले असर गर्छ। गुनासो गर्छौं, किनभने अपेक्षा गर्छौं। रिसाउँछौं, तर गहिरोभित्र माया नै हुर्किरहेको हुन्छ।
साँचो प्रेममा ‘को सही? को गलत?’ भन्दा पनि ‘हामी फेरि मिल्न सकौं कसरी?’ भन्ने चिन्ता अधिक महत्वपूर्ण हुन्छ। कति पटक झगडा भयो भन्ने होइन, कति पटक मिल्यौं भन्ने गन्ने हो मायाको गणितमा।
जब दुई जना मायामा बाँधिन्छन्, उनीहरू दुबै अपूर्ण हुन्छन्। तर माया भनेको हो, त्यही अपूर्णताभित्र पूर्णता खोज्ने प्रयास। माया लाज नमान्ने हुन्छ, अहंकार लड्ने होइन, बुझ्ने अनि क्षमा दिने कला हो।
माया त त्यही हो जहाँ तिमी रिसाउँछौ, म तिमीलाई मनाउँछु। तिमी टाढा जाँदैछौ, म तिमीलाई समातेर राख्छु। तिमी मौन छौ, म तिमीभित्रको चिच्याइरहेको आवाज सुन्छु। यही त हो प्रेम — शब्दभन्दा परको अनुभूति।
सम्बन्धहरू त्यति नै बलिया हुन्छन् जतिसम्म दुबैजनाले “यो नाता बचाऔं” भन्ने सोच राख्छन्। साँचो माया साथ छुटोस् भनेर होइन, सँगै बस्न सकियोस् भनेर संघर्ष गर्छ। परिस्थितिले परीक्षा लिन्छ, समयले धैर्य माग्छ, तर साँचो माया कहिल्यै हार मान्दैन। झगडा भयो भनेर डराउनु हुँदैन। माया त त्यही हो — जहाँ झगडा हुन्छ, तर फेरि माफी मागिन्छ, अँगालिन्छ, अनि आँखा रसाउँछ।
किनभने, हामी झगडा गर्छौं, मिलाउँछौं, र फेरि सँगै बस्छौं त्यसलाई नै त माया भनिन्छ।
प्रकाश लावड प्रर्म बैतडी