घर सुनसान छ। बिनिता गएको पन्ध्र दिन बितिसक्यो। मान्छेहरू आइरहने, भेला हुने, सम्झाउने क्रम सकियो। अब सबै आफ्नै बाटो लागे । तर विवेकको बाटो त्यहीं रोकिएको छ, जहाँ बिनिता अन्तिमपल्ट निदाएकी थिइन्। आज, जति बेर भयो– उनले फेरि त्यो सिरानी अँगालो हालेर हेरे। त्यो सिरानी जसमा बिनिता को सुगन्ध बाँकी थियो, र जुन तल, एउटा पत्र लुकेको थियो। शायद अन्तिम सासको ठीक अघि लेखिएको। विवेक को हात काँपियो। उनले त्यो चिठी निकाले। र पढ्न थाले बिनिता अन्तिमपल्ट बोलिरहेकी थिइन् कागजमा…

“प्रिय बूढो,“ “जब तपाईं यो चिठी पढिरहनु हुन्छ, म यहाँ हुन्न होला। तर म जान्दछु, तपाईंको टाउको अझै मेरै सिरानीमा हुन्छ। तपाईं अझै भान्सामा दुई गिलास चिया बनाउनुहुन्छ होला। तपाईं अझै ढोका खोल्दा मलाई खोज्नुहुन्छ होला। तर अब… ती सबै ठाउँमा म छैन। मलाई थाहा थियो बूढो, मलाई क्यान्सर लागेको छ, र त्यो पनि अन्तिम चरणमा पुगेको। तपाईंले केही नभने पनि, तपाईंको आँखाले, राती उठेर लुकेर रोएको आवाजले सबै बताएथ्यो। तपाईंले मेरो लागि कति कुराहरू गुमाउनुभयो… दुख गरेर जोडेका गहना, जमिन, सबै बेचिदिनु भयो । तर म त यहाँबाट केही लिएर जान सकिन नि। बरु तपाईंको माया… त्यसलाई च्यापेर लिएर जान खोजेकी छु।

जीवनका यी १५ वर्ष तपाईंको अँगालोमा बिताएँ। दुःख थियो, तर म त सधैं तपाईंको काँधमा टेकेर हाँसेकी। आज जब म टाढा जान लागेकी छु, तपाईंको काँधमा अन्तिम चोटी बोकाएर बिदा लिन मन लागिरहेको छ। तर यो शरीरले साथ दिइरहेको छैन। तपाईले मलाई सानो सानो कुरामा पनि रुन्छे भन्नु हुन्थ्यो नि तर आज म सास रोकिन लागे पनि रुएकी छैन बूढो। मेरो कारण तपाईंको आँसु खसेको देखेर म कमजोर हुन चाहन्न। तपाईं बलियो बन्नुहोस् है। छोराछोरी साना छन्, उनीहरूलाई ममी स्वर्ग गइन् भनेर भन्नु, र कहिले काहीँ छायाँझें ताराहरु भएर हेरेर साथ दिनेछु भनेर सम्झाउनु। तपाईंलाई मलाई बिर्सन गाह्रो हुनेछ। थाहा छ, तपाईं बिहान मेरो ’विवेक’ भन्ने आवाज खोज्नुहुन्छ। तर अब त्यो आवाज तपाईंले सुन्न पाउनु हुने छैन हृदयभित्र मात्रै गुन्जिनेछ। म अब जान लागेकी छु, तर एकपटक तपाईंको छातीमा टाउको राखेर धड्कन सुन्न मन छ। सास रोकिनुअघि तपाईंको हात समाएर निदाउन मन छ। जिन्दगी सँगै बाँच्यौँ, मृत्यु पनि तपाईंको न्यानो स्पर्शमै अँगाल्न चाहन्छु।

अब तपाईं रिसाउनु हुँदैन है, किनभने तपाईंको श्रीमती मनाउन अब आउने छैन। अब अल्छी नगर्नु, किनभने तपाईंको श्रीमती घण्टौ पर्खेर खाना ल्याउने छैन। अब आँसु थाम्न सक्नुपर्छ किनभने तपाईंलाई समाउने हात अब छैन। धेरै माया दिनुभयो, धेरै स्नेह बाँड्नुभयो। माया कहिल्यै सकिँदैन, बूढो… म त आकाशको जुन बनें, तपाईंको झ्यालबाट हेरिरहनेछु, तपाईं रोएर होइन, मुस्काइर बाँचेको देख्न। जबसम्म तपाईं सास फेरिरहनुहुन्छ, म तपाईंभित्र बाँचिरहनेछु। र… जब कहिल्यै एक्लो महसुस गर्नुहुन्छ, चिठी खोल्नुहोस म यहीँ छु”। तपाईंकी बिनिता

चिठी सकियो। विवेक को हातबाट पत्र बिस्तारै ओर्लियो। तर मुटुको भारी झनै च्यापियो। उनले चिठी छातीमा टाँसेर रोयो, बिनिता निदाएको ओछ्यानमा टुलुटुलु हेर्दै भन्यो, “किन यस्तो चुपचाप गयौ…? एकपटक भनेकी भए पुग्थ्यो बूढो म जान लागें भनेर”… त्यो रात, विवेक निदाएनन्। चिठी च्यापेर आँखा चिम्म गरे। उनी आज फेरि बिनिताको छातीमा टाँसीएर रोएजस्तो लागिरहेको थियो उनलाई सायद यस पछि बिहानै उठाँउने बिनिता आउने छैनन् ।

प्रकाश लावड प्रर्म बैतडी हाल काठमाडौँ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय