
सौराहा, मंसिर ११। नेकपा एमालेको १० औं महाधिवेशनको बन्द सत्र अहिलेसम्म शुरु हुन सकेको छैन । शनिबार बिहान ८ः३० बजे नै बन्द सत्र शुरु हुने भनिए पनि अहिलेसम्म बन्द सत्र हुन नसकेको हो ।
उक्त समय सारेर बिहान १०ः३० बजेलाई हुने भनिएको थियो । तर यो समय घर्केर दिउँसोदेखि मात्र शुरु हुने देखिएको छ । अहिले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा छन् ।
त्यस्तै भीमबहादुर रावल पक्ष पनि आन्तरिक छलफलमा रहेको छ । ओलीले सर्वसम्मत पदाधिकारी चुन्ने पक्षमा छन् । रावल भने सही व्यवस्थापन नभएसम्म चुनावमै गएर जित हार स्वीकार्न तयार रहेको बताउँदै आएका छन् ।
रावलले अध्यक्ष र घनश्याम भुषाल उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । बिहान ८ः३० देखि उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको थियो ।
त्यस्तै ओली समूहकै नेताहरु पनि आफ्नो अडानबाट टसको मस भएका छैनन् । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । उनलाई ओलीले राष्ट्रपतिको प्रस्ताव गरेका थिए । तर नेम्वाङले त्यो उधारो प्रस्ताव लिन खोजेनन् । यसअघि पनि उनलाई राष्ट्रपति बनाउने आश्वासन दिइएको थियो ।
त्यस्तै माधवकुमार नेपाललाई छाडेर ओलीसँगै बसेर केही दिनकी बागमती प्रदेशकी मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले पनि आफ्नो दावी छाडेकी छैनिन् । उनलाई पनि उपराष्ट्रपति बनाउने ओलीले दिएको आश्वासन मानेकी छैनिन् ।
त्यस्तै शंकर पोखरेलले समेत महासचिवमा उम्मेदवारी दिने बताएका छन् । उनले विष्णु पौडेललाई महासचिव नछाड्नेसमेत बताएका छन् । यसबाट ओलीको प्रारम्भिक प्रयास असफल भएको देखिएको छ ।
विधान संशोधन गरी पदाधिकारीको संख्या थपे पनि आकांक्षी बढेपछि ओलीलाई सर्वसम्मतको सुगा रटाइ निल्नु न ओकल्नु भएको छ ।
अहिले केन्द्रीय सदस्यका आकांक्षी भने भोट माग्न व्यस्त देखिएका छन् । अन्य पदाधिकारीका लागि पनि आन्तरिक छलफलमा जुटिरहेकाले मुख फोडेर भोट माग्न खोजिरहेका छैनन् । हिजोदेखि शुरु भएको महाधिवेशनमा बन्द सत्र शुरु भएपछि उक्त सत्रमा विदेशी पाहुनाहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।
तर अहिलेसम्म सत्र शुरु हुन नसक्दा सर्वसम्मतको सपना टाढिएको आशंका गरिएको छ । सर्वसम्मतकै लागि कार्यसमिति सदस्यको संख्या बढाइएको छ । महाधिवेशन भोलिसम्म चल्ने छ । हाम्रा कुरा