धनगढी । धनगढी उपमहानगरपालिका–५ स्थित सत्कार चोक तथा परीक्षा बोर्ड नजिकै बाइकको ठक्करबाट एक गाई गम्भीर घाइते भएको छ। दुर्घटनामा बाइकको गियरको रड गाईको अगाडिको खुट्टाको काँध/काखी नजिक गहिरो घाउ लागेको थियो

घाइते गाईको शरीरमा गहिरो चोटसमेत लागेको अवस्थामा फेला परेको थियो। घटनापछि रोहिनी भेटेरिनरी क्लिनिक, मोतीचोकका सञ्चालक वीरेन्द्र गिरीले गाईको उद्धार गरी धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित गौशालामा पुर्याएर उपचार गराउनुभएको छ।

गिरीका अनुसार सन्ध्या साउद र रितिका गुरुङले सञ्चालन गर्दै आएको सरोज मेडिकलका चौराहाले समेत आफ्नै व्यक्तिगत खर्चमा घाइते गाईको उद्धार तथा उपचारमा सहयोग गर्नुभएको हो।

गिरीले आफूले २०७८ सालदेखि छाडा चौपायाको निःशुल्क उद्धार र उपचार गर्दै आएको बताउनुभयो। सडकमा घाइते वा बिरामी अवस्थामा भेटिने छाडा गाईचौपायाको यसअघि पनि आफ्नै खर्चमा उद्धार गरी उपचार गर्दै आएको उहाँले जानकारी दिनुभयो।
घाइते गाईको उद्धार तथा उपचारमा स्थानीयस्तरबाट गरिएको सहयोगले मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ। सडकमा छाडा चौपायाका कारण हुने दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायले प्रभावकारी व्यवस्थापन गर्नुपर्ने आवश्यकता पनि देखिएको छ।
