दार्चुला, मंसिर २९ । जिल्लाको गोकुलेश्वर बिमान स्थल केहि समय अगाडी गौचर र केटाकेटीहरुको खेल मैदानको रुपमा रहेको भएपनि अहिले पुन संचालनको लागि काम तिव्र गतिमा भैरहेको छ । २०३८ साल बाट काम शुरु भई २०४२ साल पुस २७ गते सञ्चालनमा आएको उक्त विमान स्थल २०४९ सालमा तत्कालीन नेकपा माओवादीको जनयुद्धका बेला बन्द भएको थियो ।
तत्कालीन नेकपा माओवादीको जनयुद्धका बेला देशभरमा धेरै बिमान स्थल बन्द भएका थिए । तर केहि धेरै जसो बिमान स्थलहरु पुन सञ्चालनमा आइसकेको भए पनि दार्चुला गोकुलेश्वरमा रहेको बिमान स्थल ढिला गरि सञ्चालनमा आउने तयारी भैरहेको छ ।
स्थानिय सरकार शैल्यशिखर नगरपालीकाका प्रमुख अमर सिह धामीले केन्द्र सरकार र प्रदेश सरकारसँग आफु निर्वाचित भएलगत्तै बेला बेलामा लिखित र मौखिक जानकारी गराएका कारण अहिले बिमान स्थल संचालनका लागि केन्द्र सरकारले तदारुक्ता देखाएको हो ।
तीन करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर उक्त विमानस्थल पुनःनिर्माणको काम थालिएको छ । केएस कन्सट्रक्सन प्राली धनगढीले विमानस्थल पुनः निर्माणको कार्य गरिरहेको छ । अहिले विमानस्थलमा माटो भर्ने (फिलिङ) काम भइरहेको र एक वर्षमा फिलिङ र ग्याबिनको काम सम्पन्न हुने कम्पनीका साइट इन्चार्ज राजेन्द्र ऐरले जानकारी दिए ।
अहिले हवाई यातायातको सुविधा नहुँदा प्रदेश राजधानीबाट झण्डै ३५० किलोमिटर सडकमार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न जिल्ला बासीले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । यसका साथै आकस्मिक रूपमा रेफर गर्नुपर्ने बिरामीले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेको छ।
दार्चुला, वैतडी वासीको केन्द्रमा रहेको उक्त विमान स्थल वन्द हुँदा तिनै जिल्लाका मानिसहरुलाई आवत जावत, यातायात, पर्यटन पुर्वाधार लगायत विकास निर्माणका कार्यहरुमा समस्या भएको छ ।
यो विमान स्थल सञ्चालनमा आए वझाङको शैपाल दार्चुलाको अपि र नाम्पा हिमाल, राष्ट्रकै साँतौ धाम शैल्यशिखर मालिकार्जुन, उकु दरवार, व्यास गुफा, छाङरू, तिङ्कर भञ्ज्याङ्, दुँहुमा निर्माण भइरहेको बन्जीजम्पिङसहितको झोलुङगे पुल पासा दह, सिद्धटोपी, लगायतका क्षेत्रहरुमा अवलोकन गर्ने पर्यटकहरुको पनि लाम लाग्न सक्ने सम्भावना रहेको छ ।