काठमाडौं साउन २८ । शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिष्ठानको नाममा रहेको झण्डै ७० रोपनी जग्गा जफत गरेको छ । ओलीले प्रतिष्ठान खोली पत्नी राधिका शाक्यलाई अध्यक्ष बनाएर तेह्रथुममा ट्रष्टको नाममा हदबन्दीभन्दा बढी जग्गा राखेको पाइएपछि त्यसलाई सरकारले जफत गरेको हो ।
प्रचलित कानुनअनुसार पहाडमा ७५ रोपनीभन्दा बढी जग्गा एकै व्यक्ति वा संस्थाको स्वामित्वमा राख्न पाईंदैन । तर ओलीले शक्तिको आडमा १ सय ४३ रोपनी १४ आना एक पैसा जग्गा खरिद गरेको भेटिएसँगै हदबन्दीभन्दा बढी जग्गा सरकारको नाममा तानिएको हो । ओलीको नाममा खोलिएको उक्त ट्रष्टका नाममा तेह्रथुमको आठराई पोखरी वडा नम्बर ४ मा कित्ता नम्बर २७३, ५१९, ५२०, ५२१, ५२३ र ५२४ र वडा नम्बर ५ मा ६१३, ६१६, ६१७, ६१८, ६२१ र ६२४ मा गरी कुल ६९ रोपनी १० आना १ पैसा जग्गा हदबन्दी भन्दाबढी भेटिएको हो ।
सरकारले हदबन्दी भन्दाबढी जग्गा जफत गरी ओली ट्रष्टको नाममा रहेको उक्त जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो । भूमि व्यवस्था मन्त्रालयले ०७८ असार २१ को निर्णयबाट ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारको स्वामित्वमा ल्याइएको जनाएको छ । सरकारले ६९ रोपनी जग्गा जफत गरेपछि अब त्यहाँ ओली प्रतिष्ठानको नाममा ७४ रोपनी जग्गा बाँकी रहेको मन्त्रालयले जनाएको छ । साभार जनआस्था

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय