दार्चुला । स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै नेपाली काँग्रेस दार्चुला चुनाव केन्द्रीत भएको छ । २०७९ बैशाख ३० गते हुने निर्वाचनका लागि काँग्रेसले चुनावी अभियान कार्यक्रम नै सुरु गरेको छ । शुक्रवार र शनिवार बसेको काँग्रेस जिल्ला कार्य समितिको दोस्रो बैठकले निर्वाचनको पूर्व तयारीका लागि विभिन्न समिति गठन गरेको पार्टी सभापति ललित सिंह बोहराले जानकारी दिए । बैठकले कार्य सम्पादन समिति, अनुशासन समिति लगायत अन्य समितिसमेत गठन गरेको उनले बताए ।
जिल्ला सभापति बोहराको नेतृत्वमा १९ सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको छ । बैठकले नेपाली काग्रेस दार्चुलाको कोषाध्यक्षमा हंसराज भट्टलाई मनोनयन गरेको छ । उनकै संयोजकत्वमा ३ सदस्यीय अर्थ समिति गठन गरिएको छ । यस्तै शुभेच्छुक संघसंस्था उद्योग तथा वाणिज्य विभाग संयोजक महादेव बडू, स्थानीय तह गैर सरकारी संघसंस्था तथा सामाजिक विभाग संयोजक ललित सिंह ठगुन्ना, संगठन विभाग संयोजक पुलेन्द्र बहादुर कार्की, सूचना संचार तथा प्रचार प्रसार विभाग, पार्टी प्रवत्ता माधव राज भट्ट, कृषि तथा भूमी सुधार विभाग संयोजकमा भान सिंह धामी, युवा तथा खेलकुद विभाग संयोजक श्याम सिनाल, महिला तथा सामाजिक सुरक्षा विभाग संयोजक राजु अवस्थी, भातृ संघसंस्था समन्व विभाग संयोजक दान सिह तिंकरीलाई जिम्मेवारी दिइएको छ ।
आसन्न स्थानीय तहको चुनावलाई लक्षित गरी नेपाली काँग्रेस जिल्ला कार्य समितिले पालिका भेला आयोजना गर्ने निर्णय गरेको छ । भेला अन्तर्गत फागुन ७ गते मालिकार्जुन गाउँपालिका, फागुन ९ गते लेकम गाउँपालिका, फागुन ११ गते शैल्यशिखर नगरपालिका, फागुन १२ गते मार्मा गाउँपलिका, फागुन १४ गते अपी हिमाल गाउँपालिका, फागुन १८ गते व्याँस गाउँपालिका, फागुन २१ गते दुहुँ गाउँपालिका, २० गते महाकाली नगरपालिका र फागुन २४ गते नौगाड गाउँपालिकामा भेला आयोजना गर्ने जनाइएको छ ।
यसैबीच नेपाली काँग्रेस दार्चुलाले पार्टीमा छलफल र परामर्शविना आफूखुशी उम्मेदवारी घोषणा नगर्न सूचित गरेको छ । स्थानीय तह निर्वाचन घोषणा भएपछि पार्टीका कतिपय नेता–कार्यकर्ताले सामाजिक सञ्जाल, चिया पसल र चोकहरुमा बसेर उम्मेदवारी घोषणा गर्न थालेपछि नेपाली कांग्रेसले विज्ञप्ती नै जारी गरी सचेत गराएको हो ।
सभापति ललित सिंह बोहराद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘लोकतान्त्रिक पद्धतिमा आफ्नो चाहनाअनुसार उम्मेदवारी प्रस्तुत गर्नु अस्वाभाविक नभए पनि पार्टीको विधि र नियमलाई सबै नेता तथा कार्यकर्ताहरूले पालना गर्दा स्वयं र संस्थाका लागि लाभदायक हुनेछ । तथापी आफ्नो उम्मेदवारीको चाहनालाई नेपाली कांग्रेसको वडा कार्यसमिति, गाउँ, नगरसमिति, क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिसँग सरसल्लाह नगरी सामाजिक सञ्जाल वा होटल, चिया पसल र चोकमा बसेर उम्मेदवारी घोषणा गर्ने र टिप्पणी गर्दा र गराउँदा हाम्रो पार्टीका निष्ठावान कार्यकर्ताहरूको मनोबलमा कमी आउन गई संगठन कमजोर हुने सम्भावना रहन्छ ।’ यसरी पार्टी पार्टी हितविपरीतका क्रियाकलापहरू जो कोहीले पनि गरेको पाइएमा पार्टीको विधान अनुसार कारवाही हुने जनाइएको छ ।
पार्टी हितविपरीत काँग्रेस नेता उमेश सिंह खत्रीले सामाजिक सन्जालमा विभिन्न टिकाटिप्पणी गरेको भन्दै काँग्रेसले स्पष्टीकरण सोध्ने भएको छ । ७ दिनभित्र उनलाई स्पष्टिकरण दिन र चित्त बुझ्दो जवाफ नदिए विधान अनुसार कारवाही गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय