दार्चुला । सदरमुकाम खलंगास्थित बंगाबगड क्षेत्रमा भारतले तटबन्धको कार्य सुरु गरिरहेको छ । भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काएपछि स्थानीयबीच ढुंगा हानाहानसमेत भएको छ ।

नेपाली प्रशासनसँग समन्वय नै नगरेर भारतले एकतर्फी तरिकाले महाकालीमा स्काभेटर चलाएर वहाव परिवर्तन गरेपछि दुबै देशका नागरिकका बीचमा मंगलवार ढुंगा हानाहान भएको हो । महाकाली नदीको बहाव सदरमुकाम खलंगातिर धकेलिने गरी भारतले महाकाली नगरपालिका–४ स्थित नदीमा स्काभेटर चलाएपछि ढुंगा हानाहान भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

प्रजिअ उपाध्यायले भने ‘महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी भारतीय पक्षले तटबन्ध निर्माणको काम गरेको भन्दै स्थानीयले ढुंगा हानेका हुन्, त्यसपछि उताबाट नि ढुंगा आए ।’ दुबै तर्फका प्रशासनको सहयोगमा स्थानीयलाई शान्त पारिएको उहाले बताए ।
‘अहिले ढुंगा हान्ने कार्य रोकिएको छ, उनीहरुले स्काभेटर फिर्ता लगेका छन्,’ प्रजिअ उपाध्यायले भने, ‘भारतीय समकक्षीले फोन गरेका थिए, उनीहरुलाई तपाईहरुले समन्वय नगर्नुको परिणाम हो भनेका छौं, समन्वय गरेर मात्रै काम गर्नुहोस् भनेका छौं ।’

तटबन्ध निर्माणसंगै झोलुंगे पुल क्षेत्र, बंगाबगड र डुमपानी क्षेत्रमा नदीको भाग साँघुरो हुने र महाकाली फर्किने खतरा बढेको स्थानीय बताउँछन् । अन्तराष्ट्रिय सन्धि–सम्झौता अनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाइँदैन । तर दार्चुलामा भने नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको बहाव परिवर्तन हुने किसिमले आफूखुसी पक्की तटबन्ध निर्माण गर्दै आएको छ ।

गत माघमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नेपाल भारतका अधिकारीहरुको बैठकमा तटबन्धको विषयमा भारतीय पक्षलाई जानकारी दिन ध्यानाकर्षण गराएका थिए । बैठकमा तटबन्धले नेपाली भूभागतिर केही असर नगर्ने प्रतिबद्धता जनाउँदै भारतीय पक्षले केही समयभित्रै तटबन्धबारे बिस्तृत जानकारी दिने भनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय