दार्चुला । महाकाली नगरपालिका–५ मोहती तल्लाशैनका मोहन ऐरी छोरा अभिषेक कति बेला होसमा आउला भनेर हिजोदेखि प्रतीक्षामा छन् । धनगढीस्थित माया मेट्रो हस्पिटलका चिकित्सकहरुले ‘अब धेरै खतरा छैन्, चिन्ता नलिनुस बुवा’ भनेर उनलाई ढाडस दिएपनि उनको मन मानेको छैन् ।

‘आइसियूमा राखेको छ, खोइँ के हुने हो,’ मोहनले भने, ‘छोरा माथि ज्यानै लिने उद्धेश्यले खुकुरीले बर्बर आक्रमण गरियो, घटनामा संलग्नहरु पक्राउ नपर्दा झनै दुःख लागेको छ ।’

गत बिहीवार राति १० बजेतिर मोहन ऐरका १२ कक्षामा पढ्ने छोरा अभिषेकमाथि एक समूहले खुकुरी प्रहार गरेको थियो । जिल्ला प्रशासन कार्यालय पछाडीको बस्तीमा घर भएका अभिषेकलाई बोलाएर त्यो समूहले खुकुरी प्रहार गर्दा उनको टाउँको छियाछिया भएको छ ।

‘टाउँकामा तीनवटा ठूला घाउँ छन्,’ बुवा मोहनले भने, ‘शरीरमा पनि खुकुरी र ढुंगाका निलडाम छन् ।’ अभिषेकको हातको औला ढुंगाले थिचिएका छन् । ती राम्रोसँग चल्दैनन् ।

घरबाटै बोलाएर अभिषेकमाथि ६ जना युवाले खुकुरी प्रहार गरेको र ती मध्ये एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी प्रतिक बिष्टले बताए । ‘अरुको खोजिमा प्रहरी परिचालन गरेका छौँ, चाडै समात्छौँ,’ उनले भने ।

चिनजान कै युवाले राति घरबाट बोलाएर आक्रमण गरेका थिए । अभिषेकका बुवा मोहनका अनुसार, होलीमा दुई वटा युवा समूहबीच झगडा भएको थियो । अहिले आक्रमण गर्ने समूहले त्यो बेला पनि आफ्ना छोराको साथीहरुलाई कुटपिट गरेको खुलेको उनले बताए ।

‘तिम्रा साथीहरु तिमिले भनेको मान्छन, प्रहरी केस नगर भन्नु बरु पैसा दिन्छु भन्दै उनीहरु छोरालाई भेटन आएका थिए,’ मोहनले भने, ‘तर, घरबाट लगेर उल्टै आक्रमण गरी ज्यान लिने प्रयास गरे ।’

घटनास्थलमा खुकुरीको बीड र चरेश बरामद भएको थियो । आक्रमणकारीहरु सीसीटिभी क्यामेरामा पनि कैद भएको त्यसमा प्रष्टैसँग ६ जना देखिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारले अभिषेकको टाउकोको हड्डी भाचिएको छ, नसाहरु दायाबाया सरेका छन् र मस्तिष्कमा पनि रगत जमेको उपचारमा संलग्न चिकित्सकहरुले बताए ।

अभिषेकको सुरुमा जिल्ला अस्पतालमा उपचार भएको थियो । त्यसपछि अभिभावकहरुले उनलाई भारतको पिथौरागढस्थित सरकारी अस्पतालमा लगेका थिए । त्यहाँ ढिलो हुने छाट देखेपछि माया मेट्रो अस्पताल पु-याएका हुन् ।

‘अहिलेसम्म उपचार मै ६ लाख जति खर्च भइसकेको छ,’ अभिषेकका बुवा मोहनले भने, ‘आर्थिक समस्याले गर्दा यसपछिको उपचार कसरी गर्ने भन्ने पिरलो थपिएको छ ।’ उनले जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगमा उजुरी दिएका छन् । ‘प्रहरीले दोषीहरुलाई तुरुन्तै पक्राउ गरी कानूनी कारवाही गर्नुपर्छ,’ उनले भने ।

घटना हुनुभन्दा एक सातादेखि उक्त क्षेत्रमा रात÷बिरात युवाहरु समूहमा हिड्ने गरेको स्थानीयले बताएका छन् । यो घटना थप ग्याङफाइटको रुप लिन सक्ने भन्दै प्रहरीले सुरक्षा निगरानी बढाएको जनाएको छ । सिमारेखा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय