दार्चुला। दार्चुला जिल्लामा कृषि गणना शुरु भएको छ । मंगलबार देखि कृषि गणना शुरु भएको जिल्ला कृषि गणना कार्यालय दार्चुलाका सुचना अधिकारी जनक सिह बोहराले जानकारी दिए ।
जिल्लाका १ सय २२ ओटा गणना क्षेत्रमा कृषि गणना गर्न गणक र सुपरीवेक्षक परिचालन भइसकेको कार्यालय प्रमुख शंकर दत्त भट्टले जानकारी दिए ।
उनका अनुसार कृषि गणनाका लागि ५० जना गणक र १३ जना सुपरिवेक्षक खटाइएका छन् । जेठ १९ गते सम्म सञ्चालन हुने गणनामा गणकहरुले नमूना क्षेत्रमा गएर कृषकहरुको अवस्था, उपयोग र उपभोग गरेको जमीन, जमीनको आकार, खेतीको अवस्था, पशुपालनको अवस्था लगायतका बारेमा जानकारी लिने भएका छन ।
तथ्याङक संकलनका लागि घरघरमा आएका गणकहरुलाई सत्य तथ्य विवरण टिपाएर सहयोग गर्न कृषि गणना कार्यालय दार्चुलाले जिल्लावासीलाइ सार्वजनिक सुचनामार्फत अपिल समेत गरेको छ । कृषि क्षेत्रको दिगो विकासका लागि नीति निर्माण तथा योजना तर्जुमा गर्न सघाउ पुर्याउन, कृषि बनोट सम्बन्धी तथ्याङक संकलन गर्न कृषि गणनाको मुख्य उदेश्य रहेको छ ।
यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक १०÷१० वर्षमा कृषि गणना सुरु गर्दै आएको छ । यो सातौँ कृषि गणना हो । नेपालमा पहिलो कृषि गणना २०१८ साल देखी शुरु भएको थियो ।
